दमाहा, ट्याम्को, सहनाई, झ्याली, ताल, मादल र हुड्को बोकेर कलाकार गाल्जे पुगेका थिए । उनीहरूले आफ्नो कला मात्रै प्रदर्शन गरेनन्, पुस्तौंदेखि जोगाइँदै आएको सांस्कृतिक सम्पदाको कथा पनि सुनाए ।
What you should know
गाल्जे (कालीकोट) — दमाहाको गुञ्जायमान आवाज, सहनाईको मधुर धुन अनि झ्याली र तालको मौलिक लय । परम्परागत दौरा–सुरुवाल र हुड्केले लगाउने विशेष पहिरनमा सजिएका कलाकार बाजा बजाउँदै र नाच्दै बजार परिक्रमा गरिरहेका थिए । महिलाहरूले मागल गाइरहेका थिए, कतै देउडाको घेरा जमेको थियो । केही क्षणका लागि लाग्थ्यो, समय धेरै वर्ष पछाडि फर्किएको छ ।
यो दृश्य थियो कालीकोटको तिलागुफा नगरपालिकाले आयोजना गरेको पालिकास्तरीय लोक बाजा प्रदर्शनीको ।
पञ्चेबाजा संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले गाल्जे बजार गुञ्जायमान बन्यो । विभिन्न वडाबाट एक सयभन्दा बढी लोक कलाकार सहभागी भए । दमाहा, ट्याम्को, सहनाई, झ्याली, ताल, मादल र हुड्को बोकेर कलाकार गाल्जे पुगेका थिए । उनीहरूले आफ्नो कला मात्रै प्रदर्शन गरेनन्, पुस्तौंदेखि जोगाइँदै आएको सांस्कृतिक सम्पदाको कथा पनि सुनाए ।
लोक कलाकार माइसिगे दमाईका लागि यो कार्यक्रम विशेष थियो । वर्षौंदेखि गाउँघरमा बजाउँदै आएको बाजा पहिलो पटक यति ठूलो मञ्चमा प्रस्तुत गर्ने अवसर पाउँदा उनी दंग थिए ।
'पुर्खादेखि बजाउँदै आएको बाजा र कला नगरपालिकामै देखाउने मौका पाइयो,' उनले भने, 'आज लाग्यो, बाजा बजाउनेहरूको पनि समाजमा महत्व रहेछ ।
गोर्ख दमाईको अनुभव पनि फरक छैन । उनका अनुसार पछिल्ला वर्षहरूमा युवापुस्ताले परम्परागत बाजाप्रति रुचि घटाउँदै लगेका छन् । दमाहा बनाउन आवश्यक छाला र सामग्री जुटाउन कठिन छ, मेहनत धेरै छ, तर सम्मान र आम्दानी कम । तर नगरस्तरीय प्रदर्शनीले उनीहरूलाई नयाँ ऊर्जा दिएको छ । 'पहिलाभन्दा राम्रो र टिकाउ बाजा बनाउन हौसला मिलेको छ,' उनले भने, 'हाम्रो सीप अझै आवश्यक रहेछ भन्ने महसुस भयो ।'
तिलागुफाका नगर प्रमुख शंकरप्रसाद उपाध्यायले जन्म, विवाह, मृत्यु, नयाँ कामको शुभारम्भ र विभिन्न शुभ अवसरमा बजाइने परम्परागत बाजा तथा तिनलाई जोगाइरहेका कलाकारहरूको संरक्षण आजको आवश्यकता बनेको बताए । 'लोक कलाकार र लोक बाजाले विगतमा मनोरञ्जन मात्रै होइन, सूचना र सञ्चारको काम पनि गरेका थिए,' उनले भने, 'संरक्षण नगर्ने हो भने यी सम्पदा हराउने खतरा छ ।'
नगरपालिकाले यही सोचका साथ गत मंगलबार ११ वटै वडामा छरिएर रहेका कलाकारलाई केन्द्रमा बोलाएर आफ्नो सीप र कला प्रदर्शन गर्ने अवसर दिएको हो ।
तिलागुफा कर्णालीका चर्चित हुड्के कलाकार चिने दमाई र लौके दमाईको जन्मभूमि पनि हो । उनीहरूको कला एक समय कालीकोट, जुम्ला, मुगु हुँदै सुर्खेत र काठमाडौंसम्म चर्चित थियो । तर उनीहरूको निधनपछि त्यही स्तरका कलाकार कम हुँदै गएको नगर प्रवक्ता उपेन्द्रप्रसाद न्यौपाने बताउँछन् ।
यद्यपि, यसपटकको कार्यक्रममा लौके दमाईका दुई छोरी, एक बुहारी र छोरा सहभागी थिए । उनीहरूको उपस्थितिले परम्परा अझै जीवित रहेको सन्देश दिएको तिलागुफा–४ का वडाध्यक्ष खड्कराज शाही बताउँछन् । 'पुरानो पुस्ताले जोगाएको कला नयाँ पुस्ताले सम्हाल्दै गएको देख्दा उत्साह थपिएको छ,' उनले भने ।
नगर उपप्रमुख महेन्द्रबहादुर शाहीका अनुसार लोक बाजा र लोक संस्कृति संरक्षण गर्ने योजना गत वर्षकै नीति तथा कार्यक्रममा समावेश गरिएको थियो। त्यसका लागि बजेटसमेत विनियोजन गरिएको छ । 'रैथाने संस्कृति नयाँ पुस्ताका लागि सिकाइको विषय हो,' उनले भने, 'यस्ता कार्यक्रमले संस्कृति जोगाउनुका साथै पुस्तान्तरणको आधार पनि तयार गर्छन् ।' गतवर्ष लोकबाजा र संस्कृति संरक्षणका लागि ३ लाख बजेट विनियोजन गरेको नगरपालिकाले आगामी कार्यक्रममा पनि थप बजेट प्रस्ताव गर्ने जनाएको छ ।
उनका अनुसार लोक संस्कृति समाजलाई एकताबद्ध बनाउने माध्यम पनि हो । जातीय विभेद अन्त्य गर्न, आपसी सद्भाव बढाउन र समुदायलाई जोड्न लोक कला र संस्कृतिले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
पछिल्लो समय आधुनिक गीत–संगीतको प्रभाव, आर्थिक अवसरको खोजीमा युवाको पलायन र बाजा बजाउने पुस्ताको कमीले परम्परागत बाजा संकटमा पर्दै गएका छन् । यही चुनौतीलाई मध्यनजर गर्दै नगरपालिकाले स्थानीय बाजा समूहलाई प्रोत्साहन गर्ने, सीप विकास तालिम सञ्चालन गर्ने, बाजा खरिद तथा मर्मतमा सहयोग गर्ने र कलाकारको श्रमलाई सम्मानजनक बनाउने योजना अघि सारेको छ ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद काफ्लेका अनुसार पञ्चेबाजा कर्णालीको पहिचान हो। त्यसैले युवापुस्तालाई आकर्षित गर्न र आफ्नो मौलिक संस्कृति चिनाउन यस्ता प्रदर्शनी आवश्यक छन् । 'मलाई त निकै रमाइलो लाग्यो,' उनले मुस्कुराउँदै भने, 'लोक बाजा र लोक संस्कृतिले युवाहरूलाई पनि आकर्षित गर्नेछ ।'
