रास्वपा कर्णालीको अधिवेशन आजदेखि, सभापतिमा पाँच आकांक्षी 

रास्वपाले पालिका हुँदै १० वटै जिल्ला अधिवेशन सकेर कर्णाली प्रदेशको प्रथम अधिवेशन गर्न लागेको हो । अधिवेशनका लागि ५ सय ५ जना प्रतिनिधि सहभागी हुनेछन् ।

जेष्ठ ३१, २०८३

कृष्णप्रसाद गौतम

RSVP Karnali convention begins today, five aspirants for president

What you should know

सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश अधिवेशन आइतबारदेखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । रास्वपाले पालिका हुँदै १० वटै जिल्ला अधिवेशन सकेर कर्णाली प्रदेशको प्रथम अधिवेशन गर्न लागेको हो । अधिवेशनका लागि ५ सय ५ जना प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनमा सहभागिता जनाउन सबै जिल्लाका पदाधिकारीसहित पालिका सभापति र जेनजी समूहका प्रतिनिधि वीरेन्द्रनगर आइसकेको प्रदेश सभापति मदनबहादुर खड्काले बताए । उनका अनुसार अधिवेशन उद्घाटनका लागि रास्वपा सभापति रवि लामिछाने आउने भनिए पनि शनिबार साँझसम्म निश्चित भएको छैन । ‘अधिवेशनका लागि सबै तयारी पूरा भएका छन्, प्रमुख अतिथिको टुंगो भने अझै लागेको छैन,’ उनले भने, ‘प्रथम अधिवेशन भएकाले ऐतिहासिक बनाउन कोशिस गरेका छौं ।’

पार्टीको प्रदेश सभापतिका लागि पाँच आकांक्षी देखिएका छन् । वर्तमान सभापति खड्कासहित उपसभापति प्रेमबहादुर बोहरा, कोषाध्यक्ष स्नेहा उपाध्याय नेपाल, रुकुम पश्चिमका पूर्व सभापति मानबहादुर शाही र नन्दकिशोर बस्नेत (एनके) आकांक्षी छन् । आकांक्षीमध्ये खड्का र उपाध्याय सुर्खेतका, शाही र बोहरा रुकुम पश्चिम र बस्नेत दैलेखका हुन् । 

उपसभापति बोहरा प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा थिए । उनी आइक्यू प्रशिक्षक हुन् भने लोकसेवा आयोगको तयारीसम्बन्धी उनका एक दर्जन बढी पुस्तक प्रकाशित छन् । उनी जेनिथ एजुकेशन प्रमोसनका सञ्चालक हुन् । तर खसआर्यको सूचीमा रहेका बोहरा सांसद बन्न सकेनन् ।

शाही पेशाले इन्जिनियर हुन् । रुकुम पश्चिमको रास्वपाका संस्थापक सभापति उनी नेष्ट कन्सल्टेन्ट प्रालिका सञ्चालकसमेत हुन् । उनी रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवार थिए । शाही ४ हजार ७६ मत ल्याइ नेकपा उम्मेदवारसँग पराजित भएका थिए । जाजरकोट भूकम्पको समयमा रुकुम पश्चिम र जाजरकोटमा उनकै नेतृत्वमा झण्डै दुई सय अस्थायी टहरा निर्माण भएका थिए । 

दैलेख–१ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार बनेका बस्नेत ८ हजार १ सय ५१ मत ल्याएर कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए । व्यवसायिक पृष्ठभूमिका उनी गत फागुनको निर्वाचनको केही दिनअघि मात्रै नेकपा एमालेबाट रास्वपा प्रवेश गरेका हुन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully