विशेषज्ञ चिकित्सक आएपछि सल्यान अस्पतालले एपेन्डिक्स, हर्नियालगायतको शल्यक्रिया सेवा पुन: संचालनमा ल्याएपछि जिल्लाबासीलाई उपचारका लागि बाहिर जानु नपर्ने भएको छ ।
What you should know
सल्यान — एक दशकदेखि जटिल समस्या भएका गर्भवतीको शल्यक्रिया हुँदै आएको जिल्ला अस्पताल सल्यानमा विशेषज्ञ चिकित्सकको अभावमा रोकिएको हाडजोर्नी, हर्निया, हाइड्रोसिल, ऐपेन्डिक्सका बिरामीको शल्यक्रिया सेवा पुनः संचालनमा आएको छ ।
एमडिजिपी विशेषज्ञ चिकित्सक डा. रहिश कोजु आएपछि जिल्ला अस्पताल सल्यानमा तीन वर्षदेखि रोकिएको हाडजोर्नी भाँचिएको, एपेन्डिक्स, हर्निया, हाइड्रोसिलको शल्यक्रिया सेवा पुनः संचालनमा आएको हो । यीसँगै अस्पतालले रोकिएको मिनिल्याप र स्थायी बन्ध्याकरण सेवालाई पनि निरन्तरता दिएको छ ।
जटिल समस्या भएको गर्भवतीको शल्यक्रियाबाट सुत्केरी गराउनेलगायत अन्य सुविधा भएपछि जिल्लावासीलाई सहज भएको छ । सामान्य खालका शल्यक्रियाका लागि दाङ, नेपालगन्ज, सुर्खेत र काठमाडौं जान बाध्य जिल्लावासीले अब बाहिर जान नपर्ने भएको छ । रोकिएको शल्यक्रिया सेवा पुनः संचालनमा आउँदा रोल्पा र रुकुमका बासिन्दा पनि लाभान्वित हुने छन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले विशेषज्ञ चिकित्सक आएपछि हाडजोर्नी भाँचिएका दुई र एपेन्डिक्सका दुई गरी चार जनाको शल्यक्रिया भइसकेको बताए । पाँच वर्षअघि एमडिजिपी डा. प्रदीप शर्माले हाडजोर्नी भाँचिएका, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स भएकाको शल्यक्रिया सेवा सुरु गरेका थिए । त्यसपछि आएका एमडिजिपी डा. अभिषेक सिंहले त्यसलाई निरन्तरता दिएका थिए ।
‘सिंहपछि आएका अन्य चिकित्सकले हाइड्रोसिल, हर्निया, एपेन्डिक्स, हाडजोर्नी भाँचिएकाको शल्यक्रिया सेवा संचालन गर्न नसकेपछि २०८० देखि सेवा रोकिएको थियो,’ उनले भने, ‘गत महिनासम्म शल्यक्रिया गर्न आएकालाई सुर्खेत, नेपालगन्ज रिफर गर्नुपर्ने बाध्यता थियो । रोकिएको सेवा पुनः संचालनमा आउँदा अहिले बाहिर पठाउनु परेको छैन । थोरै रकममा हुने शल्यक्रियाले जिल्लावासीलाई राहत भएको छ’ ।
जिल्ला अस्पतालमा १० जना डा. रहेकामा शल्यक्रियामा अर्का एक डाक्टर र दुई जना प्राविधिकले डा. कोजुलाई सघाउँदै आएका उनले बताए । जिल्ला अस्पतालमा शल्यक्रियाका लागि आवश्यक उपकरणको समस्या नभए पनि तत्काल कोही विरामीलाई रगत चाहिएमा दाताले दिने तर ब्लड बैंकमा स्टक राख्नको लागि रगत दिन आनाकानी गर्दा केही समस्या भएको डा. बुढामगरको भनाई छ । हालै सरुवा भएर आएका डा. कोजुको करार म्याद यही असारमा सकिने भएकाले सेवा रोकिन नदिनका लागि विभागमा पहल भइरहेको उनको भनाई छ ।
२०४४ सालमा स्थापना भएको १५ शय्याको अस्पताल ५० शय्यामा विस्तारको पहल गर्दै आए पनि अहिलेसम्म हुन सकेको छैन । अहिले ४० बेड राखेर उपचारका लागि आएकालाई विभिन्न किसिमको सेवा दिँदै आएको अस्पतालकी मेनेजर सरिना तामाङले बताइन् । अस्पतालमा दैनिक १ सय ५० विरामी आउन गरेको उनले बताइन् ।
