हुम्ला र बाजुराका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति १० बजेदेखि सडक अवरुद्ध गरेको थियो ।
सुर्खेत — कर्णाली करिडोरअन्तर्गतको बाजुरा धुलाचौर सडकखण्ड तीन दिनपछि सञ्चालनमा आएको छ । हुम्ला र बाजुराका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति १० बजेदेखि सडक अवरुद्ध गरेको थियो ।
सडक बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस, ट्रकलगायत साना सवारी साधन गरी झण्डै ८० वटा गाडी बीच बाटोमै रोकिएका थिए भने झण्डै तीन सय यात्रु अलपत्र परेका थिए ।
दुवै जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सडक खुलाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । शनिबार बिहान ८ बजेदेखि सडक खुलेपछि अलपत्र परेका यात्रुहरु गन्तव्यमा लागेको उनले जानकारी दिए ।
