रानीसैन क्षेत्र विवाद : बाजुराले सडक रोकेपछि हुम्लामा विरोध

बाजुराका स्थानीयले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक खण्ड अवरुद्ध गरेपछि हुम्लाका नागरिक प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जेष्ठ २९, २०८३

ज्योति कटुवाल

Ranisain area dispute: Protests in Humla after Bajura blocks road

वीरेन्द्रनगर —  

बाजुरा र हुम्लाको सीमामा पर्ने रानीसैन क्षेत्रको विवाद फेरि सतहमा आएको छ ।

विवादित क्षेत्रलाई लिएर बाजुराका स्थानीयले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक खण्ड अवरुद्ध गरेपछि हुम्लाका नागरिक आन्दोलनमा उत्रिएका छन् । शुक्रबार दिउँसो हुम्लाका स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले बाजुरातर्फबाट सडक बन्द गरिनु हुम्लामाथिको अन्याय भएको भन्दै तत्काल सडक सञ्चालनको वातावरण बनाउन माग गरेका छन् ।

कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्ग भएकाले सडक अवरोधले जिल्लाको आपूर्ति प्रणाली र आवागमनमा प्रत्यक्ष असर पर्ने स्थानीयको भनाइ छ ।

रानीसैन क्षेत्रको स्वामित्वलाई लिएर लामो समयदेखि विवाद कायम छ । विवाद समाधानका लागि विभिन्न तहमा छलफल र पहल भए पनि निष्कर्ष ननिस्कँदा बेलाबेला तनाव दोहोरिने गरेको छ । पछिल्लो पटक बाजुराका स्थानीयले रानीसैनबारे आफ्नो माग सम्बोधन नभएको भन्दै धुलाचौर सडक खण्डमा अवरोध गरेका हुन् ।

सडक बन्द भएपछि हुम्लातर्फ असन्तुष्टि बढेको छ । आन्दोलनमा सहभागी स्थानीयले सीमा विवादको नाममा सडक अवरुद्ध गरेर सर्वसाधारणलाई सास्ती दिन नहुने बताएका छन् । उनीहरूले प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै विवादको स्थायी समाधान खोज्न माग गरेका छन् ।

रानीसैन विवाद कर्णाली प्रदेशकै पुरानो अन्तरजिल्ला सीमा विवादमध्ये एक हो । दुवै जिल्लाले उक्त क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएका छन् । विवाद समाधानका लागि सरकारी संयन्त्रले पटकपटक अध्ययन र समन्वयको प्रयास गरे पनि अहिलेसम्म ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully