कालीकोटका ८ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

खाडाचक्र नगरपालिकासहित जिल्लाका आठ स्थानीय तहमा जन्मेदेखि पाँच वर्षमूनिका सबै बालबालिकालाई आवश्यक ११ वटै खोप प्राप्त भएको पुष्टि गरिएको छ।

जेष्ठ २९, २०८३

तुलाराम पाण्डे

8 municipalities in Kalikot declare complete vaccination

What you should know

कालीकोट — जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकासहित ८ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । 

जन्मेदेखि ५ वर्षमूनिका बालबालिकाले ९ वटा, गर्भवतीका लागि १ र किशोरीका लागि १ गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि बिहीबार खाडाचक्र नगरपालिकालाई जिल्लाको आठौं पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । यसअघि महाबै, पचालझरना, सान्नीत्रिवेणी, रास्कोट, तिलागुफा, नरहरिनाथ र शुभकालिका घोषणा भइसकेका छन् ।

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नु पर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका व्यवस्थापक तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव डा. रत्नवीर सुनारले बताए । 

खाडाचक्रका ११ वटै वडामा ६ सय ३७ बालबालिकाको खोप सुनिश्चतताबारे अध्ययन गर्दा वडा ६ का एक जना मात्र छुटेको भेटिएपछि उनलाई पनि खोप दिएर शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित गरिएको खाडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए ।

उनका अनुसार नगरपालिकाका १३ वटा खोप केन्द्रमार्फत ११ महिनासम्मका ५ सय ९४, १ वर्षदेखि २३ महिना उमेर समूहका ५ सय ७८ बालबालिका र ७ सय जना गर्भवती आमालाई खोप लगाइएको छ । 

नगरभित्रका सबै बालबालिकाले खोप पाएको एकीन गरेर पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर उपप्रमुख गणेशबहादुर शाहीले बताए । ‘नगरपालिकाका विकट बस्तीमा पनि स्वास्थ्यकर्मी खटाएर सबै बालबालिकालाई खोपको पहुँचमा ल्याएका छौं,’ उनले भने ‘जिल्ला बाहिर गएकालाई पनि घरपरिवारमार्फत सूचना गरेर खोप पाएको सुनिश्चितता गरेका हौं ।’ खाडाचक्रमा खोप पाउन छुटेका बालबालिकालाई खोज्न महिला स्वास्थ्यस्वमसेविका घरघरमा खटाइएको प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशीले बताए । 

स्वास्थ्य सेवा कार्यालयका खोप फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत कटकवहादुर महतले कालीकोट जिल्लाका ३ हजार ६ सय ३६ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी असार २० भित्र जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना रहेको बताए ।  

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully