रास्वपा दैलेख अधिवेशनमा मतगणना विवाद, पार्टी कार्यालयमा तालाबन्दी

मत परिणाममा गडबढ देखिएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग गरेको छ ।

जेष्ठ २७, २०८३

ज्योति कटुवाल

Vote counting controversy at RSVP Dailekh convention, party office locked down

दैलेख — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणनालाई लिएर विवाद उत्पन्न भएको छ । मत परिणाममा गडबढ देखिएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग गरेको छ ।

अधिवेशनमा सभापति पदका उम्मेदवार रहेका प्रकाशकुमार बुढाले निर्वाचन समितिले कुल २ सय ४० मत खसेको जनाएको भए पनि सभापति पदका उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या जोड्दा २ सय ४६ पुगेको बताए । उनका अनुसार सभापति पदका चार उम्मेदवारले क्रमशः ९३, ६९, ४३ र ४१ मत प्राप्त गरेका थिए । 

‘कुल खसेको मतभन्दा उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या बढी देखिनु सामान्य त्रुटिको विषय होइन,’ बुढाले भने, ‘यसले मतगणना प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र सम्बन्धित सबै प्रमाण सुरक्षित राखिनुपर्छ ।’ 

उनले मतगणनासम्बन्धी कागजात तथा अन्य प्रमाण नष्ट हुन सक्ने आशंका रहेकाले पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully