कालीकोटको तिलागुफा पूर्ण खोप सुनिश्चित घोषणा

तिलागुफाका ११ वटै वडामा जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ प्रकारका खोप पाएपछि जिल्ला स्तरमै पाँचौं पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

जेष्ठ २६, २०८३

तुलाराम पाण्डे

Kalikot's Tilagufa declares complete vaccination

What you should know

कालीकोट — तिलागुफा नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि ५ वर्षमूनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि सोमबार तिलागुफाको केन्द्र गाल्जेमा आयोजित सभामा जिल्लाको पाचौं पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो । 

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन १३ प्रकारका खोप लगाइसक्नु पर्ने प्रावधान छ । कुनै कारणले खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर सबै खोपको मात्र पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख तथा जिल्ला खोप समन्वय समिति सदस्य सचिव डा. रत्नवीर सुनारले बताए ।

‘बालबालिकाको जीवन बचाउका लागि खोप महत्वपूर्ण हुन्छ,’ उनले भने ‘सबै बालबालिकालाई खोप पुऱ्याउन स्थानीय तहका खोप केन्द्रले काम गरेका छन् ।’ उनले पूर्ण खोपका लागि स्वास्थ्यकर्मीको सक्रियता, जनप्रतिनिधिको अगुवाई महत्वपूर्ण हुने सुनाए । 

तिलागुफाका ११ वटै वडामा खोप अभियान संचालन गरेर सबै बालबालिकाले खोप पाएको एकीन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । ‘नगरपालिकाका विकट बस्तीमा पनि स्वास्थ्यकर्मी खटाएर सबै बालबालिकालाई खोपको पहुँचमा ल्याएका छौं ।’ उनले भने,‘जिल्ला बाहिर गएकालाई पनि घरपरिवारमार्फत सूचना गरेर खोप पाएको सुनिश्चितता गरेका हौं ।’ 

तिलागुफामा छुटेका बालबालिकालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका घरघरमा खटाइएको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । बालबालिकाको जीवन जोगाउन र कुपोषणबाट बचाउन पनि खोप आवश्यक रहेको सुनाउँदै उनले सुनौला हजार दिनका आमा र बालबालिका लक्षित कार्यक्रम नगरपालिकाले संचालन गरेको बताए ।  

गएको माघ, फागुन र चैतमा जिल्लाभर खोज र खोप अभियान सुरु गरेको स्वास्थ्य सेवा कार्यालयले जिल्ला खोप समन्वय समितिको अनुगमनका आधारमा सबै बालबालिकाले खोप पाएको एकीन गरेपछि यहाँका स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा जिल्ला खोप फोकल पर्सन कटकबहादुर महतले बताए । 

उनका अनुसार घोषणा हुन बाँकी रहेका शुभकालिका र नरहरिनाथ गाउँपालिकालाई जेठ २७, खाडाचक्र नगरपालिकालाई २८ र पलाता गाउँपालिकालाई जेठ २९ गते घोषणा गरेर असार पहिलो साताभित्र जिल्लालाई पूर्ण खोप सुनिश्चित बनाइनेछ । 

शीघ्र कुपोषित बालबालिकाको संख्या ४ रहेको तिलागुफामा यसवर्ष ४ सय १४ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख कविराज न्यौपानेले बताए । कालीकोट जिल्लाभर ३ हजार ६ सय ६८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

स्वास्थ्यकर्मीको संलग्नतामा स्थानीय राजनैतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्था ब्यवस्थापन समिति, वडा खोप समन्वय समिति, महिला स्वास्थ्य स्वमसेविका, आमा समूह, शिक्षक, संघसंस्थाका प्रतिनिधिको सहयोग र अनुगमनमा घरधुरी सर्वेक्षण गरेर सबैले खोप पाएको सुनिश्चितता गर्ने प्रावधान छ । यहाँका स्थानीय तहले घरदैलो गरेर खोप लिनबाट छुटेका बालबालिका पत्ता लगाएर खोप दिने अभियान चलाएका छन् । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully