आगलागीबाट सामग्री जलेर नष्ट भएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित

बाग्चौर नगरपालिका–४ पेदिखोला स्थित स्वास्थ्यचौकीमा सोमबार दिउँसो बिजुलीको तार सर्ट भएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि स्वास्थ्य सेवा पूर्ण रुपमा प्रभावित भएको छ ।

जेष्ठ २६, २०८३

विप्लव महर्जन

Health post services affected after fire destroys equipment

What you should know

सल्यान — जिल्लाको बाग्चौर नगरपालिका–४ पेदिखोला स्थित स्वास्थ्यचौकीमा सोमबार दिउँसो बिजुलीको तार सर्ट भएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि स्वास्थ्य सेवा पूर्ण रुपमा प्रभावित भएको छ । उपचारमा प्रयोग हुने सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै भवनमा क्षति पुगेपछि स्वास्थ्य सेवा पूर्ण रुपमा प्रभावित भएको हो ।

सेवा पूर्ण रुपमा प्रभावित भएपछि वडाबासी समस्यामा परेका छन् । स्वास्थ्यचौकीबाट नि:शुल्क सेवा लिँदै आएका स्थानीय सामान्य उपचारको लागि मेडिकल जान बाध्य छन् भने गर्भ परीक्षणका लागि गर्भवती महिला डेढ घन्टा टाढा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र थारमारे जान बाध्य भएका छन् ।

बिरामी चेकजाँच गर्ने कोठा बस्न लायक नरहेको, उपचारमा प्रयोग हुने सामग्री, औषधि जलेर नष्ट भएको र अन्य विकल्प केही नभएपछि स्वास्थ्य सेवा केही दिनका लागि बन्द गर्नुपरेको स्वास्थ्यचौकीका प्रमुख टेकबहादुर रावतले बताए । सेवा बन्द गर्नुपर्दा गर्भवती महिला बढी समस्यामा परेका र नियमित चेकजाँच प्रभावित भएको उनले जानकारी गराए । 

‘अहिले हामीले जलेका सामग्री भवनबाट हटाउन थालेका छौं । सामग्री हटाइसकेपछि धुवाले कालै भएका कोठा सरसफाइ र आगोले क्षति पुगेको भवन मर्मत प्रक्रिया अगाडि बढाउने छौं । नगरपालिकाले औषधिलगायतका सामग्री उपलब्ध गरायो भने भवन मर्मत नहुँदै जतिसक्यो छिटो रोकिएको सेवा सञ्चालनमा ल्याउने छौं,’ उनले भने । 

आगलागीबाट १२ भोल्टको आठ थान ब्याट्री, काठको दराज तीन थान, स्टिल दराज दुई थान, स्टेचर दुई थान, इन्भटर एक थान, बिरामी राख्ने बेड दुई थान, प्लाष्टिकका कुर्सी चार थान, स्वास्थ्यचौकीमा राखेका सम्पूर्ण औषधि र कागजपत्र जलेर नष्ट हुँदा १५ लाख बढीको क्षति भएको उनले जानकारी गराए । उनले भने, ‘प्रसुति गृहको भवन छुट्टै थियो । त्यो मात्र बच्यो ।’ 

प्रसूति गृह भवन छुट्टै भएकाले आगलागीबाट केही क्षति नभए पनि पूर्ण रुपमा आवश्यक सामग्रीको व्यवस्थापन नभएकाले सुत्केरी सेवा मंगलबार र बुधबार बन्द गरिएको महिला स्वास्थ्यकर्मी कमला कुमारी ओलीले बताइन् । आवश्यक सामग्री पूर्ति भए र बत्तीको व्यवस्था भए बुधबारदेखि सुत्केरी सेवा सञ्चालन गरिने उनले जानकारी गराइन् । सेवा बन्द भए पनि गर्भवती महिलालाई र सुत्केरी हुनेलाई विभिन्न किसिमको सल्लाह दिँदै आएको उनको भनाइ छ । बिजुलीको तार सट भई आगलागी भएको स्वास्थ्यचौकी । तस्विरः कान्तिपुर ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully