विद्युत् तार सर्ट भई आगलागी हुँदा स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।
सल्यान — बाग्चौर नगरपालिका–४ पेदिखोलास्थित स्वास्थ्य चौकीमा सोमबार बिहान ११.५० तिर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । विद्युत् तार सर्ट भई आगलागी हुँदा स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।
आगलागीपछि स्वास्थ्य चौकीबाट उपलब्ध सम्पूर्ण सेवा प्रभावित भएको छ । चौकीमा रहेका आठ वटा ब्याट्री, तीन वटा काठका दराज, दुई वटा स्टिलका दराज, स्ट्रेचर दुई वटा, इन्भटर एक वटा, बिरामी राख्ने बेड दुई वटा, स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण औषधि र कागजपत्र जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताएका छन् । उनका अनुसार इलाका प्रहरी कार्यालय सिमखोलीबाट खटिएको प्रहरी टोलीले थप विवरण संकलन गरिरहेको छ ।
यस्तै कपुरकोट गाउँपालिका १ चारपालीमा बर्ष ७० कि हरिकला घर्तीको दुईतले खरले छाएको घरमा आगलागी १० हजार नगदसहित ३ लाख ५० हजार बराबरको क्षति भएको उनले जानकारी दिए । आगलागीबाट घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि वृद्धा आफन्तको बस्दै आएकी छन् ।
