कर्णालीका चार जिल्लामा रास्वपाको सर्वसम्मत नेतृत्व, अन्य जिल्लामा निर्वाचन हुँदै

सुर्खेतमा रमेशकुमार सापकोटा, हुम्लामा लक्ष्मण ऐडी, सल्यानमा प्रकाश नेपाली र कालीकोटमा प्रेम केसी रास्वपा सभापतिमा निर्वाचित ।

जेष्ठ २४, २०८३

कृष्णप्रसाद गौतम

Unanimous leadership of RSVP in four districts of Karnali, elections underway in other districts

What you should know

सुर्खेत — कर्णालीका १० वटै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशन चलिरहेको छ । पार्टीको अधिवेशनमार्फत सुर्खेत, हुम्ला, कालीकोट र सल्यानमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अन्य जिल्लामा निर्वाचन र सर्वसम्मतिको प्रयासमार्फत नेतृत्व चयन गर्न लागिएको छ । रास्वपाले वडा, पालिका हुँदै पहिलो जिल्ला अधिवेशन गरिरहेको हो । 

सुर्खेतमा प्रथम जिल्ला अधिवेशनबाट रमेशकुमार सापकोटा सर्वसम्मत सभापति चयन भएका छन् । सुर्खेत क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सापकोटा यसअघि पनि जिल्ला सभापति थिए । अन्य पदाधिकारीमा भने धेरै आकांक्षी भएपछि निर्वाचन गर्ने कि सर्वसम्मतिमा टुंग्याउने भन्नेबारे छलफल भइरहेको सभापति सापकोटाले बताए । 

त्यस्तै हुम्ला सभापतिमा लक्ष्मण ऐडी शनिबार नै निर्वाचित भएका थिए । ऐडी यसअघि उपसभापति थिए । जिल्ला उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई पनि सर्वसम्मत चयन गरिएको ऐडीले बताए । 

सल्यानको सभापतिमा प्रकाश नेपाली निर्वाचित भएका छन् भने उपसभापति टीकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिव हीरा योगी र कोषाध्यक्ष सीता मल्ल चयन भएको निर्वाचन समितिले जनाएको छ । 

त्यस्तै कालीकोटमा शनिबार भएको जिल्ला अधिवेशनले प्रेम केसीको सभापतित्वमा कार्यसमिति गठन गरेको छ । जसको उपसभापतिमा उपसभापति दिनेश शाही, सचिव भूपेन्द्र शाही, सहसचिव जीवनबहादुर शाहीसहित १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

अन्य जिल्लाहरूमा पनि अधिवेशन चलिरहेको पार्टीका प्रदेश सभापति मदन खड्काले जानकारी दिए । उनका अनुसार जाजरकोटमा सर्वसम्मतिको प्रयास असफल भएपछि सोमबार निर्वाचन हुनेछ । जाजरकोटमा सभापतिका लागि राघव कार्की, महेश सिंह, रमेश केसी र डीएन शाही आकांक्षी छन् ।

रुकुम पश्चिम र दैलेखको सभापतिमा चार/चार जना आकांक्षी भएपछि मतदान भइरहेको छ । सभापतिका लागि पुस्तक चन्द, द्रोण खड्का, टेकबहादुर पुन र पलबहादुर खड्काबीच प्रतिस्पर्धा हुन लागेको हो । त्यस्तै दैलेखमा विनीबहादुर शाही, मित्र प्याकुरेल, प्रकाश बुढा र बखत भण्डारीबीच नेतृत्वका लागि निर्वाचन भइरहेको छ । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully