पहिलो जिल्ला अधिवेशनले सभापति भण्डारीसँगै उपसभापतिमा सुनिलबहादुर बुढा, सचिवमा जगतबहादुर खत्री, उपसचिवमा दानबहादुर बुढा र कोषाध्यक्षमा सीता रोकायालाई निर्विरोध निर्वाचित गरेको छ ।
जुम्ला — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला सभापतिमा मक्करबहादुर भण्डारी दोहोरिएका छन् । आइतबार सकिएको प्रथम जिल्ला अधिवेशनले उनलाई निर्विरोध जिल्ला सभापतिमा चयन गरेको हो । यसअघि पार्टीले उनलाई जिल्ला सभापतिका रूपमा मनोनीत गरेको थियो ।
पहिलो जिल्ला अधिवेशनले सभापति भण्डारीसँगै उपसभापतिमा सुनिलबहादुर बुढा, सचिवमा जगतबहादुर खत्री, उपसचिवमा दानबहादुर बुढा र कोषाध्यक्षमा सीता रोकायालाई निर्विरोध निर्वाचित गरेको हो । सचिव जगतबहादुर यसअघिका जिल्ला सचिव हुन् । पहिलो अधिवेशनले उनलाई दोहोर्याएको हो ।
जनजातितर्फको सदस्यमा पेमा लामा तामाङ र दलित सदस्यमा शान्ते कामी निर्वाचित भएका छन् । खुला सदस्यमा मीनबहादुर बुढा र महिला सदस्यमा रमा धराला निर्विरोध भए । दुई जना सदस्य जिल्ला समितिको पहिलो बैठकले मनोनीत गर्नेछ ।
अधिवेशन सुरु हुनुअघि रास्वपा जुम्लाले सदरमुकाम खलंगामा र्याली निकालेको थियो ।
नवनिर्वाचित भण्डारी विद्यालय निरीक्षक, शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाको प्रमुख हुँदै रास्वपामा प्रवेश गरेर राजनीति प्रारम्भ गरेका हुन् । रास्वपाले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट विनिता कठायतलाई समानुपातिक सांसद बनाएको थियो । उनैलाई २०८२ को चुनावमा प्रत्यक्षतर्फको उम्मेदवार बनाएकामा पराजित भएकी थिइन् । रास्वपाले जुम्लाबाट समानुपातिकतर्फ ५ हजारभन्दा बढी मत पाएको थियो ।
