बर्सेनि बढ्दै कर्णालीको बेरुजु

महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनले प्रदेश सरकारको सार्वजनिक वित्त व्यवस्थापनको पाटो अस्तव्यस्त हुँदै गएको औंल्याएको छ।

जेष्ठ २३, २०८३

तृप्ति शाही

Karnali's beruju is increasing every year

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारका निकायको बेरुजु बर्सेनि बढ्दै गएको छ । महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनले प्रदेश सरकारको सार्वजनिक वित्त व्यवस्थापनको पाटो अस्तव्यस्त हुँदै गएको औंल्याएको हो । महालेखाको प्रतिवेदनअनुसार बेरुजु बढी हुने प्रदेशमा कर्णाली दोस्रो स्थानमा छ । सबैभन्दा बढी बेरुजु मधेश प्रदेशको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु रहेकामा १७ करोड ६४ लाख ५८ हजार रुपैयाँ फर्स्योट भयो । आर्थिक वर्ष २०८१/८२ मा फेरि ७७ करोड ३५ लाख ६२ हजार रुपैयाँ बेरुजु थप भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

महालेखाले उक्त वर्ष प्रदेश मन्त्रालय तथा प्रदेश सरकार मातहत निकाय गरी १ सय ३७ कार्यालयको ३७ अर्ब १९ करोड ८० लाख ७६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा बेरुजु रकम कायम भएको जनाएको छ । उक्त वर्ष कायम भएको बेरुजुमध्ये ७ करोड २७ लाख ३९ हजार रुपैयाँ पेस्की मात्रै छ । पेस्कीबाहेकको खुद बेरुजु ७० करोड ८ लाख २३ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक वर्ष २०७९/८० सम्म ३ अर्ब ९४ करोड ८२ लाख ५४ हजार रुपैयाँ बेरुजु कायम थियो । यसमा २९ करोड ६८ लाख ४४ हजार रुपैयाँ सम्परीक्षणबाट लगत कट्टा गरिएको थियो । सम्परीक्षण भएपश्चात् ९६ लाख ९२ हजार थप बेरुजु थपिएर कुल बेरुजु रकम ३ अर्ब ६६ करोड ११ लाख २ हजार रुपैयाँ पुगेको थियो । 

महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा कर्णालीमा १.२२ प्रतिशत रहेको बेरुजु दर आर्थिक वर्ष २०८१/८२ मा बढेर २.०८ प्रतिशत पुगेको छ । २०८०/८१ मा ४५ करोड ९४ लाख ८२ हजार रुपैयाँ बेरुजु थपिएको हो ।

बेरुजु नियन्त्रण तथा वित्तीय पारदर्शिता कायम गर्न सम्बन्धित निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता महालेखाले औंल्याएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully