मापदण्ड पालना नगर्ने ५ वटा मासु पसललाई जरिवाना

रुकुम पश्चिमको सदरमुकाम खलंगा र बागबजार क्षेत्रका ती पसलको दर्ता नवीकरण नभएको, बिलबिजक जारी नगरिएको र आधारभूत सरसफाइमा ध्यान नपुर्‍याइएको पाइएको थियो ।

जेष्ठ २३, २०८३

महेश केसी

Five meat shops fined for not following standards

रुकुम पश्चिम — जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आज सदरमुकाम खलंगा र बागबजार क्षेत्रका मासु पसलहरुको अनुमगन गरेको छ । अनुमगनका क्रममा तोकिएका मापदण्ड परिपालना नगर्ने ५ वटा पसललाई जनही ५ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पशु अस्पताल तथा पशु सेवा कार्यालय र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय समेतको उपस्थितिमा खलंगा र बागबजारका गरी जम्मा ११ वटा मासु पसलको अनुमगन गरिएको कामु शाखा अधिकृत तोसराज केसीले जानकारी दिए । 

उनका अनुसार अधिकांश पसलहरुको दर्ता नवीकरण नभएको, बिलबिजक जारी नगरिएको र आधारभूत सरसफाइमा समेत ध्यान नपुर्‍याइएको जस्ता कमीकमजोरी पाइएको छ ।

‘विगतको अनुमगनमा पनि यस प्रकारमा समस्या भेटिएका र अहिलेसम्म पनि अटेर गरेको भेटिएका ५ पसललाई न्यूनतम जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ,’ उनले भने, ‘अगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन सचेत समेत गराइएको छ ।’

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully