बुढालाई रास्वपा जिल्ला सभापति मक्करबहादुर भण्डारीले पार्टीमा स्वागत गरे ।
जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा रास्वपामा प्रवेश गरेका छन् । उनी गुठिचौर-३ का वडाध्यक्ष इन्द्रबहादुर बुढासहित रास्वपा प्रवेश गरेका हुन् । उनलाई रास्वपा जिल्ला सभापति मक्करबहादुर भण्डारीले स्वागत गरे । उनी नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा जितेका थिए ।
बुढाले गुठिचौरका एक सयभन्दा बढी कांग्रेस कार्यकर्ता साथमा प्रवेश गराए । रास्वपा प्रवेश नगर्दै बुढालाई कांग्रेस जिल्ला कार्यसमितिले तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको थियो । जेन-जी आन्दोलनपछि पालिकामा सुशासन अभियान चलाएका बुढाले कांग्रेसभित्र क्षमता र दक्षताको मूल्यांकन नहुने आरोप लगाए ।
अध्यक्ष बुढा माओवादी 'जनयुद्ध'मा होमिएका थिए । उनी शान्ति प्रक्रियासँगै एमालेमा आबद्ध भए । २०७४ को स्थानीय तह चुनावमा टिकट नपाएपछि कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेसको जिल्ला सचिव उम्मेदवार बनेर चुनाव हारेका थिए ।
