सल्यानको कालिमाटी गाउँपालिकाले पालिकाभित्रका ७६ जना दलित समुदायका एकल महिलालाई १ सय ५२ वटा बोकाबाख्रा वितरण गरेको छ ।
सल्यान — सल्यानको कालिमाटी गाउँपालिकाले पालिकाभित्रका ७६ जना दलित समुदायका एकल महिलालाई १ सय ५२ वटा बोकाबाख्रा वितरण गरेको छ । प्रत्येकलाई पालिकाले बोकाबाख्रा गरी दुई वटाको दरले वितरण गरेको हो ।
आर्थिक दृष्टिकोणले विपन्न रहेका महिलाले बाख्रापालन गरेर आत्मनिर्भर बन्न सकुन् र त्यसलाई विस्तार गरेर व्यवसायमा परिणत गरुन् भनेर दलित समुदायका विपन्न एकल महिलालाई १५ लाख रकम बराबरको बोकाबाख्रा वितरण गरिएको कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए ।
दलित उत्थान कार्यक्रमअन्तर्गत बोकाबाख्रा वितरण गरेको उनले जानकारी गराए । उनका अनुसार कालिमाटी गाउँपालिका बाख्रापालनको पकेट क्षेत्र मानिन्छ । प्रसस्त जंगल र चरन भएकाले किसानलाई घाँसपातको लागि धेरै समस्या हुँदैन । थोरै मेहनत गरेर किसानले बाख्रापालन गर्न सक्छन् । एकल महिलालाई आत्मनिर्भर बन्नका गाह्रो काम गर्न नपरोस् भनेर बाख्रा वितरण गरिएको हो । दलित समुदायको उत्थानका लागि प्रत्येक वर्ष पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
