मुसिकोटस्थित स्वास्थ्य संस्थाले जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गरेको थियो।
सुर्खेत — रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ की १९ वर्षीया सुत्केरी सुशीला रोकाको जटिल प्रसूति समस्याका कारण नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बिहीबार उद्धार गरी उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। मुसिकोटस्थित स्वास्थ्य संस्थाले जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गरेको थियो।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हवाई उद्धार कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो।
कर्णाली प्रदेशमा यस कार्यक्रममार्फत सयौं गर्भवती तथा सुत्केरी महिलाले सेवा पाउँदै आएका छन्।
