कर्णाली प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको नीति कार्यक्रममा कृषि उत्पादनको गुणस्तर सुनिश्चित गर्न तथा उपभोक्तालाई सुरक्षित खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएको जनाएको छ।
सुर्खेत — कर्णाली प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी अवशेष परीक्षण सेवा सञ्चालन गर्ने भएको छ।
कर्णाली प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको नीति कार्यक्रममा कृषि उत्पादनको गुणस्तर सुनिश्चित गर्न तथा उपभोक्तालाई सुरक्षित खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएको जनाएको छ।
मुख्यमन्त्री यामलाल कँडेलले नीति कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको समन्वयमा ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गरी वातावरणमैत्री तथा प्राङ्गारिक कृषिसम्बन्धी जनचेतना अभिवृद्धि गरिने बताए । साथै ‘सिक्दै कमाउँदै’ कार्यक्रममार्फत कृषिमा सीप र रोजगारी प्रवर्द्धन गरिने जनाइएको छ।
गुणस्तरीय बीउ प्रणाली विकासका लागि बीउ उत्पादन क्षेत्र विस्तार, जलवायु सहनशील बीउ प्रवर्द्धन, सामुदायिक बीउ बैंक स्थापना तथा बीउ बजार सुदृढीकरण गरिने भएको छ।
कृषि उत्पादनलाई दिगो, प्रतिस्पर्धी र बजारमुखी बनाउन सम्भावित जिल्लाहरूमा भौगोलिक विशेषताअनुसार कृषि तथा पशुपन्छी स्रोत केन्द्र स्थापना गरिने नीति लिइएको छ। ती केन्द्रमार्फत गुणस्तरीय बीउ, बिरुवा तथा पशुपन्छी उत्पादन गरी आपूर्ति सुनिश्चित गरिनुका साथै नमुना सिकाइ केन्द्रका रूपमा विकास गरिनेछ।