प्राविधिक ज्ञान अभावले थन्किँदै मिनी टिलर

स्याउ सुपरजोन कार्यालयका प्रमुख खेमराज शाहीले कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा हरेक वर्ष मिनी टिलर दिने गरेको बताए ।

जेष्ठ १७, २०८३

डीबी बुढा

Mini tillers are stalling due to lack of technical knowledge

What you should know

जुम्ला — जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपरजोन जुम्लाले हरेक वर्ष किसानलाई अनुदानका मिनी टिलर बाँड्दै आएको छ । 

पछिल्लो सात वर्षमा ३ सय १९ किसानलाई मिनी टिलर दिइएको तथ्यांक सुपरजोन जुम्लासँग छ । यो हिसाबले जुम्लाको कृषि क्षेत्र आधुनिकीकरणतर्फ गइरहेको देखाए पनि आवश्यक प्राविधिक ज्ञानको अभावले हरेक वर्ष दिइँदै आएको मिनी टिलर थन्किने गरेका छन् । 

हिमा गाउँपालिका–१ का किसान गोपाल रोकायाले मिनी टिलरसँगै मर्मतका लागि किसानलाई प्राविधिक ज्ञान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘अनुदानका मिनी टिलर दिएर किसानलाई खेतीपाती गर्न सहज त भएको छ तर ती बिग्रिँदा चाहिने उपकरण र प्राविधिक ज्ञान नहुँदा निकै ठूलो समस्या हुने गरेको छ । अधिकांश किसानले मिनी टिलर मर्मत गर्न नसकेर थन्काइरहनुपर्ने अवस्था छ ।’

अहिले जिल्लाभर तातोपानी–५ का टक्क नेपालीले मिनी टिलर मर्मतको काम गरिरहेका छन् । तर पर्याप्त जनशक्ति नहुँदा दुर्गमका मिनी टिलरहरू बिग्रेपछि थन्काउनुबाहेकको विकल्प छैन । परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न, कृषि उत्पादन बढाउन र श्रम अभाव व्यवस्थापन गर्दै बाँझो खेत उपयोगमा ल्याउन मिनी टिलर प्रदान भएको हो तर यससम्बन्धी आवश्यक ज्ञान सीप चाहिने देखिन्छ ।

स्याउ सुपरजोन कार्यालयका प्रमुख खेमराज शाहीले कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा हरेक वर्ष मिनी टिलर दिने गरेको बताए । उनका अनुसार कृषक समूह, सहकारी, कृषि फार्म र उद्यमीलाई अनुदानमा दिने व्यवस्था छ । चालु आर्थिक वर्षमा ४६ वटा मिनी टिलर किसानलाई दिने कार्यक्रम भएकामा ४३ जना उद्यमीसँग सम्झौता भइसकेको छ । १८ जना किसानले लिएर जोत्न सुरु गरिरहेका छन् । जुम्लाका आठ स्थानीय तह र कालिकोटको रास्कोट र तिलागुफा नगरपालिकाका किसानले यो सेवा पाइरहेका छन् । 

यस वर्ष मात्रै १२ लाख ४४ हजार रुपैयाँ व्यवस्था गरिएको हो । मिनी टिलर प्रयोगले विशेष गरी पाखोबारी र खेतमा सहज खनजोत गर्न सकिने किसानको अनुभव छ । इन्धनबाट सञ्चालन हुने मिनी टिलरले कम समय र कम श्रममा खेत जोत्न सक्ने भएकाले कृषक आकर्षित हुन थालेका हुन् । कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जना, ०७५/०७६ मा ४८ जना, ०७६/०७७ मा ४६ जना, ०७७/०७८ मा ४२ जना, ०७९/०८० मा ५८ जना र ०८०/०८१ मा ६० जना व्यक्ति, समूह, फर्म तथा सहकारीलाई मिनी टिलर वितरण गरिएको थियो । ‘पछिल्ला वर्षमा कृषकको आकर्षण बढ्दै गएको देखिन्छ,’ कार्यालय प्रमुख शाहीले भने, ‘तर, आवश्यक ज्ञान र सीप दिन पनि आवश्यक छ ।’

 कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार १ सय हेक्टरमध्ये ३८ हजार ४ सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । यो कुल भूभागको १५.२१ प्रतिशत हो । त्यसमध्ये १२ हजार ५१ हेक्टर अर्थात् ३१.३१ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहेको तथ्यांकले देखाउँछ । सिञ्चित जमिन ३ हजार ६ सय ५० हेक्टर अर्थात् १३.८१ प्रतिशत मात्र छ भने २२ हजार ७ सय ८५ हेक्टर अर्थात् ८६.१९ प्रतिशत खेती अझै आकाशे पानीमा निर्भर छ । अहिले चरनक्षेत्र अभावले गोरु पालन गर्न छाडिएको छ । यो अवस्थामा मिनी टिलर आवश्यक भए पनि दुर्गमका किसानलाई मर्मत गर्न निकै सकस हुने गरेको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully