कर्णाली छोरी सम्मेलन शनिबारदेखि

जसमा कर्णालीका ७९ स्थानीय तहबाट २/२ जना बालिकाको सहभागिता रहनेछ भने लोपोन्मुख राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरुले पनि उपस्थिति जनाउनेछन् ।

जेष्ठ १६, २०८३

कान्तिपुर संवाददाता

Karnali Daughters Conference from Saturday

सुर्खेत — कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण शनिबारदेखि वीरेन्द्रनगरमा आयोजना गरिएको छ । बालिका, किशोरी तथा महिलामाथि हुने लैगिंक विभेद, बालविवाह, छाउपडी, घरेलु हिंसा, यौन दुर्व्यवहार र मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको आयोजक ज्योति फाउन्डेसनले जनाएको छ ।

सम्मेलन शनिबार र आइतबार दुई दिनसम्म चल्नेछ । जसमा कर्णालीका ७९ स्थानीय तहबाट २/२ जना बालिकाको सहभागिता रहनेछ भने लोपोन्मुख राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरुले पनि उपस्थिति जनाउनेछन् । 

‘सम्मेलनमा लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीलगायत विषयमा छलफल हुनेछ,’ संस्थाकी अध्यक्ष ज्योति कटुवालले भनिन्, ‘सम्मेलनमा उठाइएका विषयवस्तु तीनवटै तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत हुनेछन् ।’

उनका अनुसार झण्डै २ सय ५० छोरीहरु सहभागी हुने कार्यक्रममा कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन् । 

सम्मेलनमा विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने र विभिन्न प्यानल छलफल सत्रसमेत सञ्चालन हुने उनको भनाइ छ । फाउण्डेसनले गत वर्ष वैशाख २७ देखि २९ गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो । 

कान्तिपुर

Link copied successfully