स्थापना भएको १५ वर्षमै विद्यालय विद्यार्थीविहीन, मर्जको तयारी गर्दै पालिका

बसाइँसराइले प्रत्येक वर्ष घट्दै जाँदा गत वर्ष १–५ मा विद्यार्थी निल भएका थिए भने बालविकासमा मात्र केही बालबालिका थिए । यो वर्षदेखि बालविकास पनि विद्यार्थीविहीन भएको छ ।

जेष्ठ १०, २०८३

विप्लव महर्जन

School without students within 15 years of establishment, municipality preparing for merger

What you should know

सल्यान — जिल्लाको कपुरकोट गाउँपालिका–४ मा रहेको सरस्वती प्राथमिक विद्यालय विद्यार्थी विहीन भएको छ । बालविकासदेखि ५ सम्म सञ्चालित विद्यालयका विद्यार्थी निजी तथा अभिभावकसँगै बसाइँसराई गरेर तुलसिपुर झरेपछि विद्यालय विद्यार्थीविहीन भएको हो । 

२०६८ सालमा स्थापना भएको विद्यालयमा स्थापना कालदेखि केही वर्षसम्म लगातार १–५ सम्म सय जना विद्यार्थी थिए । बसाइँसराइले प्रत्येक वर्ष घट्दै जाँदा गत वर्ष १–५ मा विद्यार्थी निल भएका थिए भने बालविकासमा मात्र केही बालबालिका थिए । यो वर्षदेखि बालविकास पनि विद्यार्थीविहीन भएको छ । 

विद्यार्थी विहीन भएपछि अहिले पालिकाले उक्त विद्यालय मर्जको तयारी गरेको छ भने विद्यालयमा कार्यरत शिक्षकलाई अन्यत्र व्यवस्थापन गरिसकेको छ । विद्यालय विद्यार्थी विहीन भए पनि अहिले बालविकासमा महिला शिक्षिका र कार्यालय सहयोगी उक्त विद्यालयमा कार्यरत छन् । बालविकास शिक्षिका र कार्यालय सहयोगी दैनिक साढे ९ बजे विद्यालय गएर हाजिर गरी १ बजेसम्म बसेर फर्कने गरेका छन् । 

कृषि व्यवसायमा आबद्ध अभिभावकले आफ्ना बालबालिका निजी र राम्रो विद्यालयमा पढाउने उदेश्यका साथ दाङतिर पठाएका र अलि अलि भएका नजिकैको अर्को विद्यालयमा गएर भर्ना भएपछि विद्यालय विद्यार्थी विहीन भएको बालविकासमा कार्यरत शिक्षिका दीपा घर्तीले बताइन् । विद्यार्थी नभए पनि विद्यालय गएर हाजिर गर्दै आएको उनको भनाइ छ । ‘सरकारले विद्यालयमा विद्यार्थी संख्या बढाउन भर्ना अभियान, बसाइँ व्यवस्थापन, दिवा खाजाको व्यवस्था गर्दै आएको छ । सरकारले लागू गरेको कार्यक्रम त्यत्तिकै खेर गएको छ,’ उनले भनिन् । 

विद्यालयमा दुई शिक्षक, एक बालविकास र एक कार्यालय सहयोगी कार्यरत रहेकोमा गत वर्ष पालिकाले दुई शिक्षकलाई अन्य विद्यालयमा गरिसकेको छ । उनी भन्छिन्, ‘विद्यार्थी नभएपछि हामी के गरौं, हामीलाई अन्यत्र व्यवस्थापन गरिदिनुपर्‍यो भनेर पालिकामा माग राखेका थियौं । पालिकाले अहिले त्यहिँ बस्नुस् विद्यालय गएर हाजिर गर्नुस् भनेपछि बिदाको दिन बाहेक नियमित विद्यालय जाने र हाजिर गरी फर्किने गरेका छौं ।’ विद्यार्थी विहीन बने पनि विद्यालयमा लाखौंका फर्निचर लगायतका सामग्री त्यत्तिकै छन् । 

उक्त विद्यालयलाई मर्ज गर्ने तयारी भैरहेको कपुरकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेमबहादुर बिष्टले बताए । मर्जको प्रक्रिया अगाडि बढाउने भनेर नै पालिकाको अनुदानमा कार्यरत दुई शिक्षकलाई अन्य विद्यालयमा व्यवस्थापन गरिएको उनले जानकारी गराए । उनका अनुसार विद्यालय मर्ज गरेलगत्तै फर्निचर लगायतका सामग्रीसमेत मर्ज गरेको विद्यालयमा हस्तान्तरण गरिने छ भने विद्यालयको संरचना केही कामका लागि प्रयोगमा ल्याउने छ ।  

पालिकाले विद्यार्थीको सुविधा र सहुलियतको लागि विभिन्न कार्यक्रम गर्दै आए पनि बसाइँसराइका कारण विद्यार्थी टिकाउन नसक्दा घर नजिकैको विद्यालय रित्तो भएको उनले जानकारी गराए । भौगोलिक विकटताका कारण विद्यार्थीलाई आउजाउ गर्न गाह्रो हुने भएकाले विद्यार्थी संख्या कम भए पनि तत्काल मर्ज गर्न नसकिएको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully