जाजरकोटमा पूर्वाधार विस्तार : दुई पुल शिलान्यास, लामतडा ट्रष्ट ब्रीज उद्‌घाटन 

कर्णाली प्रदेश सरकारका मन्त्री शाहद्वारा छेडागाड र शिवालय क्षेत्र जोड्ने दुई नयाँ सडक पुलको शिलान्यास तथा एक ट्रष्टब्रीज पुलको उद्घाटन गरिएको छ ।

जेष्ठ १०, २०८३

ज्योति कटुवाल

Infrastructure expansion in Jajarkot: Foundation stone laid for two bridges, Lamatada Trust Bridge inaugurated

काठमाडौँ — जाजरकोटमा एकैदिन दुईवटा सडक पुलको शिलान्याश भएको छ भने एक ट्रष्टब्रीज पुलको उद्‌घाटन भएको छ । शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्ती खोला सडक पक्की पुल निर्माणको शिलान्यास गरेका छन् । 

यस्तै शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुई पिपल सडक पुल निर्माणको पनि शिलान्यास गरिएको छ । साथै छेडागाड नगरपालिका–६ र जुनीचाँदे गाउँपालिका–५ जोड्ने लामातडा पुलको उद्घाटन समेत गरिएको छ ।

शिवालय गाउँपालिकामा निर्माण हुन लागेको पिपल सडक पुलको लम्बाई २५ मिटर लामो रहनेछ । पुलको सम्झौता गत वैशाख २ गते गरिएको थियो भने सम्पन्न मिति २०८५ वैशाख २ गते तोकिएको छ । पुल निर्माणका लागि ३ करोड १५ लाख ७९ हजार ७८२ रुपैयाँ लागत अनुमान गरिएको छ । पुल निर्माणको जिम्मा बजरंग गोलरेस एमबीएस जेभी काठमाडौंले पाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले निर्माण कम्पनीलाई समयमै योजना सम्पन्न गर्न आग्रह गर्दै पुल बनेपछि शिवालयसँगै छेडागाडका नागरिकलाई समेत सहज हुने बताए । पश्चिम जाजरकोटका सडक पूर्वाधार निर्माणका महत्वपूर्ण मेरुदण्डका रूपमा हेरिएका यी योजनाले शिवालय, जुनीचाँदे, छेडागाड, कुशे गाउँपालिकाका नागरिकलाई सडक सञ्जालमा सहज पहुँच पुर्‍याउने अपेक्षा गरिएको मन्त्री शाहले बताए । 

‘विकास निर्माण सबै पक्षको साथ, सहभागिता र अपनत्व उतिकै आवश्यक छ, पूर्वाधार विकासलाई नागरिक जीवनसँग प्रत्यक्ष जोडिएकाले विकास निर्माणमा निगरानीसॅगै सहयोग आवश्यक छ,’ उनले भने ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully