हुम्ला–बाजुरा सीमा घटनाबारे गृहको छानबिन टोली गठन

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा रक्षा-सचिव केदारनाथ शर्मासहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले टोली गठन गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

Home Ministry forms investigation team into Humla-Bajura border incident

काठमाडौँ — हुम्ला र बाजुरामा भएको घटनाको सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयले आइतबार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को संयोजकत्वमा टोली गठन गरेको छ । 

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा रक्षा-सचिव केदारनाथ शर्मासहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले टोली गठन गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए । उनका अनुसार टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

आइतबार नै सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको थियो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य-सचिवको जिम्मेवारी दिइएको छ ।

कान्तिपुर

Link copied successfully