भेरी करिडोरका पाँच पुल सात वर्षदेखि अलपत्र

कर्णाली करिडोरमा अझै बनेनन् ९ पुल ।

जेष्ठ १०, २०८३

कृष्णप्रसाद गौतम

Five bridges of Bheri Corridor have been abandoned for seven years

What you should know

सुर्खेत — भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिकास्थित नलगाड र झिर्मेखोलामा पुल निर्माणका लागि क्याराभान/हिराचन जेभीले २०७७ माघ २ गते ठेक्का लियो । त्यही दिन तात्रखोला, मैदेखोला र तासुखोलामा पुल निर्माण गर्न रायमाझी/क्याराभान जेभीले पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । ५ वटा पुल निर्माणका लागि क्याभानले १८ करोड ४३ लाख रुपैयाँमा जिम्मा लिएको छ । उसले अहिलेसम्म ३/३ पल्ट म्याद थपिसकेको छ । तर पुल निर्माणको काम अझै सकिएको छैन । 

निर्माण जसका कारण जाजरकोट–डोल्पा सडकमा यात्रा गर्ने यात्रुले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । ‘एउटै पालिकाभित्रका ५ वटा पुल अलपत्र छन्,’ नलगाड नगर प्रमुख डम्बरबहादुर रावतले भने, ‘हिउँदमा जसोतसो गाडी चले पनि वर्षायाममा यातायातका साधन अवरुद्ध हुने गरेका छन्, यात्रुले खोलामा फसेका गाडी धकेलेर निकाल्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार पुल नहुँदा ठाउँठाउँमा गाडीबाट झर्दै र गाडीमा चढ्दै यात्रा गर्नुपर्ने बाध्यता छ । पुल नभएका ठाउँमा झोलुंगे पुलबाट सामान पल्टी गरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

नेपाली सेनाले २०७६ कात्तिकमा जाजरकोट–डोल्पा सडकको १ सय १८ किलोमिटरमध्ये १ सय १३ किलोमिटर सडकको ट्रयाक खोलेपछि भेरी करिडोरमा यातायातका साधन चल्न थालेका थिए । सडक निर्माण भएको लामो समय बित्दासमेत पुल निर्माण नहुँदा यात्रा कष्टकर बनेको स्थानीय दयाराम डाॅगीले बताए । ‘बन्छ भन्दाभन्दै पुलको प्रतीक्षा गर्न थालेको वर्षौ बित्यो, कहिले बन्ने हो केही ठेगान छैन,’  उनले भने, ‘पुल बने बाह्रै महिना गाडी चल्थ्यो, हाम्रो यात्रा सहज हुने थियो ।’ 

पुल नहुँदा हिउँदे सिजनमा मात्र यातायातका साधन सञ्चालन भइरहेको उनको भनाइ छ । ‘पुल बने नेपालगन्जबाट सोझै डोल्पासम्म एउटै गाडीमा जान पाइन्थ्यो, भाडा पनि सस्तो हुन्थ्यो,’ उनले भने, ‘सामान पल्टी गर्दा सामान ढिलो पुग्ने, टुटफुट हुने, हराउनेलगायत समस्याहुन थालेका छन् ।’ बालबालिका, महिला, बिरामी र ज्येष्ठ नागरिकलाई ठाउँठाउँमा झरेर पैदल हिॅड्दा सास्ती हुने गरेको उनले बताए ।

नेपालगन्जदेखि दुनैसम्मको दूरी २ सय ७२ किलोमिटर भए पनि गाडी भाडा ५ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता भएको स्थानीय कमान खड्काले बताए । उनका अनुसार पुल नभएकै कारण देखाइ व्यवसायीले विभिन्न खण्डमा मनपरी भाडा लिने गरेका छन् भने बीचबीचमा भरियालाई भारी बोकाउँदा थप रकम खर्च हुने गरेको छ ।

भेरी करिडोर योजना कार्यालयका अनुसार ती पुलहरूको भौतिक प्रगति २० देखि ५० प्रतिशत मात्र छ । योजना प्रमुख नरेशप्रसाद केशरीले ५ मध्ये ३ वटा पुल निर्माणको जिम्मा अर्को कम्पनीलाई दिने र दुई पुलको निर्माण क्याराभानले नै गर्नेगरि सहमति हुन लागेको बताए । उनका अनुसार उक्त खण्डमा थप १४ पुल निर्माणका लागि स्रोत सुनिश्चित भएको छ । सडकखण्डअन्तर्गत फूलबारीखोला, चिसापानी, खहरेखोला, घट्टेखोला, मनकाखोला, रिजिगार, उसुमखोला, कपरगाड, खदाङ, खदाङ भेरी पुल, चुागाड, त्रिपुराकोट, गल्लीगाड, खोरखोलामा पुल निर्माणका लागि अर्थ मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगले सहमति दिएको हो ।

त्यस्तै चीन सीमास्थित हिल्सा जोड्ने २ सय ६९ किमिको कर्णाली करिडोरमा ९ वटा पुल निर्माणको काम बाँकी छ । करिडोरको निर्माण सकिएसँगै गत असारदेखि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । करिडोरमा खुलालु–सल्लीसल्ला र हिल्सा– सिमकोट आयोजनामार्फत छुट्टाछुट्टै काम भइरहेको छ । जसमध्ये खुलालु–सलीसल्ला खण्डको १ सय २३ किलोमिटर खण्डमा १५ वटा पुलमध्ये ९ वटा पुलहरू निर्माणाधीन छन् भने ६ ठाउँमा पुल बन्न बाँकी छ ।

भुक्काखोला, सेरुखोला, बाँधुखोला, तुसारेखोला, पैमाखोला र मकैखोलामा पुल निर्माण हुन सकेको छैन । आयोजनाका प्रमुख विसुनदास लामाका अनुसार यो खण्डमा घाटचौरदेखि भुक्कासम्मको १४ किमि खण्डमा नेपाली सेनाले चट्टान फोडी बुझाउन बाँकी छ भने पिलीचौरदेखि कुवाडीसम्मको २३ किमि र कुवाडी तुम्चसम्मको २७ किमिमा सडक स्तरोन्नतिको काम भइरहेको छ । थप सडक स्तरोन्नतिका लागि ३ सय १५ करोड रुपैयाँको वहुवर्षीय ठेक्का सहमतिका लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको उनले जानकारी दिए । 

यसैगरि हिल्सा–सिमकोटको १ सय ४६ किलोमिटर खण्डमा ३ पुल बनिसकेका छन् भने ३ वटा पुलको काम भएको छैन । यो खण्डमा सल्लीसल्ला, चुवाखोला र गोठीखोलामा पुल निर्माणको काम अलपत्र छ । चालु आर्थिक वर्षमा सल्लीसल्ला र चुवाखोलामा पुल निर्माणका लागि ठेक्का व्यवस्थापनको काम भइसकेको निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीले बताए । अनुसार अहिले सिमकोट–हिल्सा, सिमकोट–हेक्पा, च्याछडा–यलबाङ र यलबाङ–इरिङ गरी ४ खण्डमा यो वर्ष झण्डै ६४ करोड रुपैयाँमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।  

करिडोरको ठाउँठाउँमा पुल नबन्दा सास्तीपूर्वक यात्रा गर्नुपरेको स्थानीय कमल रोकायाले बताए । उनका अनुसार सडक कच्ची हुँदा सदरमुकाम सिमकोटदेखि सुर्खेतसम्मको ३ सय ३४ किलोमिटर दूरी पार गर्न पूरै दुई दिन लाग्छ । ‘पुल नभएको ठाउँमा खोलामा गाडी फसे झरेर यात्रुले नै गाडी धकेल्नुपर्छ,’ उनले भने, ‘ठाउँठाउँमा गाडीबाट झरेर फेरि गाडी चढ्न बाध्य छौ ।’

कच्ची सडकमा लामो, जोखिमपूर्ण र पट्यारलाग्दो यात्राका कारण सडकमार्ग अझै भरपर्दो बन्न नसकेको सिमकोट गाउँपालिका–७ का मोहन रोकायाले बताए । ‘पुल नहुँदा सधै वर्षामा यातायात सेवा अवरुद्ध हुन्छ,’ उनले भने, ‘वर्षाको बेला पैदल खोला तर्दै खण्डखण्डमा गाडी चढ्दै सास्तीपूर्वक यात्रा गर्न बाध्य छौ, वर्षायाममा त गाडी अवरुद्ध भएको भयै हुन्छ ।’ 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully