पर्यटनको सम्भावना खोज्न कर्णालीमा तीन दिने महोत्सव

तीन दिनसम्म चल्ने महोत्सवमा छिमेकी भारतको भारतको उत्तरप्रदेश, उत्तराखण्ड, नयाँ दिल्लीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी र सरोकारवाला सहभागी छन् ।

जेष्ठ ८, २०८३

ज्योति कटुवाल

Three-day festival in Karnali to explore tourism potential

सुर्खेत — वीरेन्द्रनगरमा शुक्रबारदेखि प्रथम कर्णाली पर्यटन महोत्सव सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन र दीर्घकालीन सम्भावनाबारे छलफल तथा प्रवर्द्धनात्मक गतिविधि गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर तथा पर्यटन क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ । महोत्सवमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी तथा पर्यटनसँग सम्बन्धित संस्थाका प्रतिनिधि पनि सहभागी छन् ।

नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्लू नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजनामा महोत्सव आयोजना गरिएको हो । कार्यक्रमको समन्वय होटल व्यवसायी महासंघ कर्णाली प्रदेशले गरेको छ ।

कार्यक्रमका संयोजक तर्कबहादुर शाहीका अनुसार महोत्सवमार्फत कर्णालीका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन क्षेत्रको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully