राप्ती, मदन भण्डारी र रारा राजमार्गमा बनेका घरटहरा हटाउन सडक डिभिजन दाङले सम्बन्धितलाई १५ दिनको समय दिएको हो ।
सल्यान — सडक डिभिजन कार्यालय दाङले आफ्नो कार्य क्षेत्र अन्तर्गत सल्यानमा पर्ने राप्ती राजमार्ग, मदन भण्डारी राजमार्ग र रारा राजमार्गमा सडक क्षेत्रभित्र निर्माण भएका संचरना हटाउन अल्टिमेटम दिएको छ ।
कार्यालयले राप्ती राजमार्गको तुलसीपुर–सितलपार्टी–खौला, मदन भण्डारी राजमार्गको तुलसीपुर–काल्चे, सितलपार्टी–खलंगा–बालुवासंग्रही र रारा राजमार्गको थारमारे–चौरजहारी खण्डमा अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा हटाउन १५ दिने अल्टिमेटम दिएको हो ।
अतिक्रमण गरी निर्माण गरिएका घरटहराले सडक विस्तारमा समस्या हुने भन्दै कार्यालयले त्यस्ता संरचना सम्बन्धित ब्यक्ति तथा संस्था आफैले हटाउन १५ दिनको समय दिएको हो । १५ दिनपछि कार्यालयले हटाउनु पर्दा लागेको खर्च सम्बन्धिबाट उठाउने चेतावनी पनि दिएको छ ।
अतिक्रमणका कारण यातायात संचालन र सडक बिस्तारमा बाधा पुग्ने र दुर्घटनाको पनि जोखिम हुने भएकाले त्यस्ता संरचना हटाउन सूचना प्रकाशन गरिएको डिभिजन कार्यालयका सूचना अधिकारी ईन्जिनियर अशोक चौधरीले बताए ।
सल्यानमा पर्ने यी तीन वटै राजमार्गमा सडक विस्तार, स्तरबृद्धि र कालोपत्रको काम भइरहेको छ । तीन वटै राजमार्गमा अहिलेसम्म कति ठाउँमा अतिक्रमण भएको भन्ने तथ्यांक भने नभएको उनले बताए ।
