सल्यानको कुमाखका पशु चौपायामा खोरेत रोग बढ्दै, किसान चिन्तित

खोरेत रोग हावाबाट एक पशुबाट अर्को पशुमा सर्ने भएकाले महामारीको रूप लिने खतरा बढेपछि पालिकाका किसान चिन्तित बनेका हुन् ।

जेष्ठ ७, २०८३

विप्लव महर्जन

Farmers concerned as foot and mouth disease increases in livestock in Salyan's Kumakh

What you should know

सल्यान — यहाँको कुमाख गाउँपालिकामा किसानले पालेका पशु चौपायामा खोरेत रोगको संक्रमण बढ्दै गएको पाइएको छ । रोगको संक्रमण बढेपछि किसानले पालेका पशुचौपाया धमाधम बिरामी पर्न थालेका छन् । 

कुमाखका किसानले बाख्रा, भैंसी र गाई पालन गरेर आय आर्जन गर्दै आएका छन् भने त्यसैबाट घरखर्च चलाएका थिए । खोरेत रोग हावाबाट एक पशुबाट अर्को पशुमा सर्ने भएकाले महामारीको रूप लिने खतरा बढेपछि पालिकाभित्रका किसान चिन्तित बनेका हुन् । 

कुमाख गाउँपालिका–४ स्यानीपिप्लीका किसान कालीबहादुर बुढाले खोरेत रोगका कारण आफ्ना दुई गोरु, एक भैंसी र १० बाख्रा बिरामी परेको बताए । रोग अन्यमा सर्न थालेको उनले जानकारी गराए । ‘रोगबाट ग्रस्त भएका पशुचौपायाले घाँसपात खान छाडेका छन् । जसका कारण दुब्लाउँदै गएका छन्,’ उनले भने, ‘पालिकाको पशु शाखामा जानकारी गराएपछि पशु अस्पताल तथा पशु शाखा कार्यालय सल्यान र पालिकाको प्राविधिक टोली आएर भ्याक्सिन लगाएर फर्केको छ तर रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।’ आफ्ना मात्र नभई बस्तीका २० भन्दा बढी परिवारले पालेका पशुचौपायामा अहिले खोरेत रोग देखिएको उनको भनाइ छ । 

कुमाख गाउँपालिका–१ का किसान नरबहादुर बुढाथोकीले खोरेत रोगका कारण धेरै किसानका बाख्रा, भैंसी, गाई र गोरु बिरामी परेको बताए । ‘भैंसी र बाख्रा पालेर धेरै परिवारले मासिक १५ देखि २५ हजार रुपैयाँसम्म कमाउँदै आएका थिए,’ उनले भने, ‘यसबाटै अधिकांशको घरखर्च चलेको थियो । रोगले पशु बिरामी परेपछि किसानलाई रोजीरोटी गुम्ने हो कि भन्ने चिन्ता बढ्न थालेको  छ ।’ 

कुमाख गाउँपालिका पशु शाखाका प्रमुख डा.विष्णु केसीले गत सातादेखि कुमाख गाउँपालिकाका वडा नं १, ४ र ६ मा किसानले पालेका ३ सय बढी पशु चौपायामा खोरेत रोगको संक्रमण देखिएको बताए । यो सरुवा रोग भएकाले सबैतिर फैलिने खतरा बढेको पनि उनले जानकारी दिए । पशु अस्पताल तथा पशु शाखा सल्यानको प्राविधिक सहयोगमा किसानका घर–घरमा गएर बिरामी पशु चौपायाको उपचार गर्नुका साथै भ्याक्सिन लगाएको र नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको उनले बताए । 

पशु अस्पताल तथा पशु शाखा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र केसीले भारतबाट ल्याएको बोकाबाट किसानले पालेका पशुचौपायामा खोरेत रोग सरेको र हावाबाट सर्ने भएकाले किसानले पालेका धेरै पशु बिरामी परेको बताए । ‘भाइरसबाट पशुको खुरको बीच भागमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि कार्यालयले बिरामी पशुलाई भ्याक्सिन लगाइएको छ,’ उनले भने, ‘सल्यानमा २०५२ सालपछि अहिले फेरि खोरेत रोगको बिगबिगी देखिएको हो ।’

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully