बाजुराको धुलाचौर क्षेत्रमा बुधबारदेखि सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र ।
What you should know
सुर्खेत — हुम्ला र बाजुराको सीमावर्ती क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयमा सुरु भएको विवादले उग्र रुप लिँदा सडक अवरुद्ध गरिएको छ । बाजुराको धुलाचौर क्षेत्रमा बुधबारदेखि सडक अवरुद्ध हुँदा सयौँ यात्रु यहाँ अलपत्र परेका छन् ।
काठमाडौँ, नेपालगन्ज, सुर्खेतजस्ता सहरबाट घर फर्किरहेका यात्रु अहिले बाटोमै रोकिएका छन् । बाटोमै अलपत्र पर्नेमा बिरामी, महिला, वृद्धवृद्धा, बालबालिका तथा परीक्षा सकेर फर्किरहेका विद्यार्थीसमेत रहेका छन् । 'सुर्खेतबाट हिजो पुगेको हुँ,' हुम्लाका स्थानीय रुपसिंह सुनारले भने, ‘दुई दिन भयो खाना, पानी र बस्ने होटल बन्द छन् ।' धुलाचौर, पिलुचौर र कवाडी स्थानमा दर्जनौं गाडी रोकिएका छन् ।
धुलाचौर आसपासमै हुम्ला जाने सयौं मानिस अलपत्र छन् । यात्रुहरू खुला आकाशमुनि रात बिताउन बाध्य छन् । कतिपयले दुई दिनदेखि पेटभरि खाना खान नपाएको बताए ।
मंगलबार लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच विवाद भएको थियो । विवाद चर्किँदा ढुंगामुढा र झडपसमेत भएको थियो । घटनामा चार जना घाइते भएका थिए । त्यसयता हुम्ला जोड्ने मुख्य सडक अवरुद्ध बनेको छ।
धुलाचौर क्षेत्रमा व्यवसाय गर्दै आएका पसलसमेत बन्द गराइएको वीरेन्द्र सिंहले बताए । 'सडकमा टायर बालेर प्रदर्शन गरिएको छ, आवतजावत पूर्ण रूपमा ठप्प पारिएको छ,’ उनले भने, ‘दुई दिनसम्म यात्रुहरू सडकमै अलपत्र पर्दा पनि सरकारले केही कदम चालेको छैन । दुई जिल्लाको सीमा विवादले आमनागरिक सडकमा बास बस्नु परेको छ।’
बाजुराका प्रमुख जिल्ला अधिकारीले डोरेन्द्र निरौलाले आफूहरूले जतिसक्दो छिटो सडक खुलाउने सहमति जुटाउँदै गरेको बताए ।
