कर्णाली सरकारः १० महिनामा २९ प्रतिशत मात्र बजेट खर्च

१० महिनाभित्र खर्च भएको विकास बजेटको अवस्था नाजुक छ । विकास बजेट २१ दशमलव ५३ प्रतिशत मात्रै कार्यान्वयनमा आएको छ । तलब भत्तातर्फ ४१ दशमलब ३७ प्रतिशतले खर्च भएको छ ।

जेष्ठ ६, २०८३

तृप्ति शाही

Karnali government: Only 29 percent of budget spent in 10 months

What you should know

वीरेन्द्रनगर — चालु आर्थिक वर्ष २०८२/०८३ सकिन दुई महिना मात्र बाँकी छ । कर्णाली प्रदेश सरकारले अहिलेसम्म २९ प्रतिशत मात्र बजेट खर्च गरेको छ । १० महिनाको अवधिमा कूल बजेटको २९ दशमलम ०३ प्रतिशत बजेट मात्र सरकारले खर्च गरेको छ । 

१० महिनाभित्र खर्च भएको विकास बजेटको अवस्था नाजुक छ । विकास बजेट २१ दशमलव ५३ प्रतिशत मात्रै कार्यान्वयनमा आएको छ । तलब भत्तातर्फ ४१ दशमलब ३७ प्रतिशतले खर्च भएको छ ।

यो अवधिमा ९ अर्ब ६३ करोड ५१ लाख ४९ हजार ८३० रुपैयाँ बराबरको बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षमा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको थियो ।

आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेश सरकारले बजेट खर्च बढाएको छ । चैत्र मसान्तसम्म ८ अर्ब ३ करोड ६२ लाख बराबरको बजेट खर्च गरेकोमा वैशाख महिनाभर १ अर्ब ५९ करोड ८९ लाख बराबरको बजेट खर्च गरेको छ । चैत्र महिनाभर १ अर्ब ५५ करोड बराबर बजेट कार्यान्वयन गरेको सरकारले बैशाखमा झन्डै ४ करोडले वृद्धि गरेको छ ।

सबैभन्दा धेरै १० अर्ब ७३ करोड १४ लाख पुँजीगत बजेट भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १० महिनामा जम्मा २१.४३ अर्थात् २ अर्ब २९ करोड ९८ लाख मात्रै कार्यान्वयनमा ल्याएको छ । 

ऊर्जा तथा जलस्रोतले ३१ प्रतिशत अर्थात् १ अर्ब २६ करोड कार्यान्वयन गरेको छ । ५ अर्ब ७७ करोड ५६ लाख बजेट भएको सामाजिक विकास मन्त्रालयले २ अर्ब १२ करोड ४५ लाख खर्च गरेको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेट २ अर्ब ५७ करोड ११ लाख भएकोमा खर्च ५२ करोड दुई लाख मात्र भएको छ । यस्तै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयसँग जम्मा बजेट २ अर्ब ४२ करोड ७९ लाख भएकोमा खर्च ७४ करोड १९ लाख गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ९ करोड ७८ लाख खर्च गरेको छ । यो मन्त्रालयसँग २० करोड १३ लाख कुल बजेट थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १८ करोड ४३ लाख खर्च गरेको छ भने प्रदेश लोक सेवा आयोगले ३ करोड ८२ लाख खर्च गरेको छ । यस्तै प्रदेश योजना आयोगले २ करोड ३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले बताए ।

गत वर्ष (२०८१/०८२) मा यो १० महिनाको अवधिमा प्रदेश सरकारले ३२.६५ प्रतिशत बजेट खर्च गरिसकेको थियो । हरेक वर्ष बजेट खर्चमा कर्णाली प्रदेश सरकारका कमजोर हो । मन्त्रालयका अधिकारीहरु यो वर्ष सुरुमा जेनजी आन्दोलन, त्यसपछि प्रतिनिधि सभा चुनाव र हाल इरान युद्धका कारण विकास बजेटमा प्रत्यक्ष असर परेको बताउँछन् ।

अहिले प्रदेश सरकारका पदाधिकारीहरु आगामी आर्थिक वर्ष (२०८३/०८४) को नीति तथा कार्यक्रम र बजेट निर्माणको काममा लागेका छन् । चालु बजेटको बचतकै आधारमा आगामी वर्षको बजेट आकार बढ्ने गरी सिलिङ वितरण भइसकेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully