हुम्लाको नेप्का गाउँमा बाढी : स्कुल र गोठहरु बगे, प्रहरी घटनास्थलतर्फ जाँदै

एक्कासी असिना–पानी सहितको बाढीले डाँफे आधारभूत विद्यालय र केही स्थानीयका गोठहरु बगाएको प्रारम्भिक जानकारी आएको पालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए ।

जेष्ठ ६, २०८३

तृप्ति शाही

Flood in Nepka village, Humla: School and cowsheds washed away, police on their way to the scene

वीरेन्द्रनगर — हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा मंगलबार राती आएको बाढीपहिरोले स्कुल र गोठहरु बगाएको छ । एक्कासी असिना–पानी सहितको बाढीले डाँफे आधारभूत विद्यालय र केही स्थानीयका गोठहरु बगाएको प्रारम्भिक जानकारी आएको पालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए ।

उनका अनुसार त्यहाँ राम्रोसँग फोन सम्पर्क हुन सकेको छैन । मानवीय क्षति नभएको तर २ देखी ३ स्थानीयका गोठहरु र एक विद्यालय भवनमा क्षति पुगेको खबर स्थानीयले दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर खड्काका अनुसार बुधबार बिहान ५ बजे मेल्छाम प्रहरीचौकीबाट प्रहरी टोली घट्नास्थलमा गएको छ । ९ देखी १० बजे प्रहरी टोली घट्नास्थलमा पुग्नसक्ने उनले बताए । 

यातायातको सुविधा नभएकाले उक्त गाउँमा प्रहरी पैदल गइरहेको छ । प्रहरी घट्नास्थल पुगेपछि एकिन जानकारी आउने उनले बताए । उक्त गाउँ हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully