कर्णाली सरकारको नीति तथा बजेटमाथि छलफल

कार्यक्रममा सहभागीहरूले कर्णालीको विकासका लागि नीति र बजेटबीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

जेष्ठ ५, २०८३

ज्योति कटुवाल

Discussion on Karnali government's policies and budget

What you should know

सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा राजस्व सम्बन्धी सुझाव संकलनका लागि सरोकारवालासँग छलफलसँगै सुझाव माग गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार वीरेन्द्रनगरमा पूर्वमुख्यमन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्र तथा विभिन्न निकायका प्रतिनिधिले बजेट कार्यान्वयन, उत्पादन वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई केन्द्रमा राख्न सुझाव दिएका थिए । 

कार्यक्रममा सहभागीहरूले कर्णालीको विकासका लागि नीति र बजेटबीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए । पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति क्षेत्रसँग समन्वय नगरी ल्याइने बजेटले प्रदेशको विकास र समृद्धि सम्भव नहुने बताए । 

उनले उद्योग–व्यवसायका लागि सहुलियत कार्यक्रम, सडक पूर्वाधारमा प्राथमिकता र राजस्वको दायरा विस्तार गर्नुपर्ने सुझाव दिए । प्रदेशसभा विपक्षी दलका नेता मंगल शाहीले नीति तथा कार्यक्रम शब्दमा मात्रै सीमित नभई व्यवहारमा परिणाम दिने खालको हुनुपर्ने बताए । 

पूर्वमुख्यमन्त्री राजकुमार शर्माले विगतका कमजोरी सुधार गर्दै रोजगारी सिर्जना गर्ने, कृषि उत्पादन र भूगोलअनुसारका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले केन्द्रीय तारमा आधारित यातायात प्रणाली र कृषि उपजमा आधारित योजनालाई प्राथमिकता दिनुपर्ने बताए ।

Discussion on Karnali government's policies and budget

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बजेट कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए । स्थानीय तहले अर्गानिक कृषि जोन घोषणा गरे प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ थियो । 

गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका संयोजक निमबहादुर केसीले प्रदेश र स्थानीय तहबीच समन्वय अभाव रहेको उल्लेख गर्दै बजेट कार्यान्वयन प्रणाली सुधार गर्नुपर्ने बताए । उनले कर्मचारी क्षमता विकास, सामाजिक न्यायमा आधारित बजेट बाँडफाँट तथा ५० लाखभन्दा कमका योजना स्थानीय तहलाई हस्तान्तरण गर्न सुझाव दिए ।

जिल्ला समन्वय समिति महासंघ कर्णालीका अध्यक्ष मञ्जनबहादुर कार्कीले कार्यान्वयन गर्न नसकिने योजना बजेटमा समावेश नगर्न आग्रह गरे । उनले स्थानीय स्रोतसाधन उपयोग र पर्यटन प्रवर्द्धनमा केन्द्रित योजना ल्याउनुपर्ने बताए । प्रदेशसभा प्रदेश मामिला समितिकी सभापति कल्याणी खड्काले कृषि र प्रविधिलाई केन्द्रमा राख्दै दीर्घकालीन लाभ दिने नीति तथा कार्यक्रम आवश्यक रहेको बताइन् ।

कार्यक्रमको समापन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले चालु आर्थिक वर्षका कमजोरी सुधार गर्दै आगामी बजेट ल्याइने बताए । उनले प्राप्त सुझावलाई समेटेर उत्पादनमुखी, जनमुखी, नतिजामुखी तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित बजेट ल्याउने प्रतिबद्धता जनाए ।उनले सुशासन, वित्तीय अनुशासन र प्रदेशको समृद्धिलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण गरिने बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully