आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक अभ्यास विपरीत भएको टिप्पणी गरे ।
सुर्खेत — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले सुझावलाई गम्भीर रूपमा नलिए सदन र सडक दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक अभ्यास विपरीत भएको टिप्पणी गरे । अध्यादेश ल्याउने, ट्रेड युनियन खारेज गर्नेजस्ता कदमले सरकारप्रति समर्थनभन्दा विरोध गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘संविधान संशोधन वा लोकतन्त्रको रक्षाका निम्ति हामीले रचनात्मक ढंगले समर्थन गर्ने भनेका थियौं,’ उनले भने, ‘तर पछिल्ला सरकारी कदमले समर्थनभन्दा पनि प्रतिवाद गर्नुपर्ने अवस्था बनाएको छ ।’
दाहालले झन्डै दुई तिहाई नजिकको सरकारले संविधान संशोधनजस्तो संवेदनशील विषयमा पारदर्शिता कायम गर्न नसकेको आरोप लगाए । सदनलाई छल्दै अध्यादेश ल्याइनु लोकतन्त्रमाथिको अपमान भएको उनको भनाइ थियो ।
कम्युनिस्ट एकताबारे उनले नेताहरूबीच छलफल जारी रहेको जानकारी दिए । ‘कम्युनिस्टबीच एकता गर्ने भनेर नीतिगत निर्णय भएको छ,’ उनले भने, ‘तर तत्कालै पार्टी एक भइहाल्ने अवस्था भने छैन ।’
