बालबालिकाले रुचि र क्षमताअनुसार भिडियो, कथा र अक्षरबाट सिर्जनात्मक प्रतिभा देखाए ।
What you should know
कालीकोट — झट्ट सुन्दा मेला भन्ने बित्तिकै हाटबजार, सांस्कृतिक, औद्योगिक तथा धार्मिक महोत्सवको झल्को आउँछ । तर, यहाँको खाँडाचक्र नगरपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि पालिकास्तरीय पढाइ मेला संचालन गरेको छ । बालबालिकाको पढाइ गति बढाउन र लेखाइ सीप सुधार्न सिकाइ मेला आयोजना गरिएको हो ।
‘आजको पढाइ, भोलिको गन्तव्य’ भन्ने नाराका साथ नगरपालिकाको केन्द्र मान्मस्थित पञ्चदेव माविमा आयोजित पढाइ मेलामा शिक्षक, अभिभावक र बालबालिकाको सक्रिय सहभागिता रह्यो । बालबालिकामा पढ्ने, लेख्ने बानीको विकास गर्ने, शिक्षकलाई सिर्जनात्मक शक्तिमा अभ्यस्त बनाउने, अभिभावकलाई आफ्ना बालबालिकाको सिकाइप्रति जिम्मेवार बनाउने, स्थानीय भाषा संस्कृति र सिर्जनालाई लेखनमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको खाँडाचक्र नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जसीप्रसाद चौलागाईंले बताए । ‘पठन सीप र नयाँ प्रविधिको प्रयोगका लागि पनि पढाइ मेला महत्त्वपूर्ण छ,’ उनले भने, ‘विद्यार्थीको आत्मबल बढाउन र परम्परागत रटेर पढ्ने शैलीको सट्टा बुझेर लेख्ने बानीको विकास हुनेछ ।’
सार्वजनिक शिक्षामा सरकारी लगानी प्रशस्तै भए पनि सिकाइ उपलब्धि कमजोर रहेको अवस्थामा सुधार ल्याउन खाँडाचक्रमा स्याक र सोसेक नेपालको सहकार्यमा पढाइ मेलाको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशीले बताए । ‘पढाइ मेलालाई सिक्ने र सिकाउने माध्यमका रूपमा लिएका छौं,’ उनले भने, ‘पढाइ मेलाले विद्यालयबीच प्रतिस्पर्धासहित एकअर्कोबाट सिक्ने सिकाउने काम हुनेछ ।’
एक साताअघि गृह मन्त्रालयबाट सरुवा भएर नगरको प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएका उपसचिव जोशीले बालबालिकालाई सानैदेखि नैतिकवान् र देशप्रेमी बनाउन शिक्षक समुदायको हात हुने बताए ।
बालबालिकामा पढाइप्रति रुचि बढाउन सके विद्यालय छाड्ने दरमा कमी आउने चर्चा गर्दै नगर प्रमुख कमलबहादुर शाहीले विद्यालय शिक्षा सुधारका लागि खाँडाचक्रले १० वर्षे शिक्षा योजना बनाएको पनि बताए । 
निःशुल्क र गुणस्तरीय शिक्षाका लागि राज्य र अभिभावकको लगानी आवश्यक रहेको कर्णाली प्रदशेका शैक्षिक अभियन्ता टीकाराम आचार्यले बताए । 'सरकारले माविसम्मको शिक्षा निःशुल्क घोषणा गरे पनि व्यवहारमा लागू भएको छैन,' उनले भने, 'यसका लागि राज्यले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्छ ।' समाज जागरण केन्द्र सुर्खेतका कार्यकारी निर्देशक समेत रहेका आचार्यले आफ्नो संस्थाले स्थानीय तहहरूसँग मिलेर कर्णालीका डोल्पा, मुगु, कालीकोट, दैलेख, सुर्खेत, सल्यान र जाजरकोटमा शैक्षिक सरोकारवालाको क्षमता अभिवृद्धि, बजेट पैरवीलगायतका काम गरिरहेको सुनाए ।
बालबालिकालाई सक्रिय बनाउन पढाइ मेलाले भूमिका खेल्ने सुनाउँदै अमरज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा नागरिक समाजका अगुवा पूर्ण पौडेलले बालबालिकालाई प्रतिस्पर्धी, शिक्षकलाई जागरुक र अभिभावकलाई बालबालिकाप्रति संवेदनशील बनाउन मेला सफल रहेको सुनाए ।
स्थानीय सामग्रीसँग परिचित गराउँदै पठन संस्कृतिको विकास गर्न र अन्तर विद्यालयमा पढाइमा प्रयोग हुने सामग्रीबारे शिक्षकबीच अनुभव आदान-प्रदान भएको आयोजक पंचदेव माविका प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए ।
खाँडाचक्र नगरपालिकाको मान्म कलष्टर वरपरमा मावि र आवि गरी आठवटा विद्यालय सहभागी बनेको पढाइ मेलामा कक्षा १ देखि ३ का लागि अक्षरसँग खेल, कक्षा ४ देखि ८ सम्मका लागि मौलिक कथा लेखन तथा वाचन र ८ देखि १० सम्म विद्यालयका लागि डिजिटल मिडिया भिडियो निर्माण प्रतियोगिता संचालन गरिएको कार्यवाहक विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकुलबहादुर शाहीले बताए । उनले अरू सहभागी विद्यालयले आफ्नो विद्यालयको शैक्षिक र भौतिक वातावरण अवलोकन गरेर सिकाइ आदान-प्रदान भएको सुनाए ।
डिजिटल माध्यमप्रति विद्यार्थीको अत्यधिक रुचि देखिएकाले मावि तहका बालबालिकाबीच पढाइ मेला स्थलमै भिडियो निर्माण गरेर सम्पादन गर्ने प्रतियोगिता संचालन गरिएको मेलाका सहजकर्ता तथा शिक्षा अधिकृत जगत भामले बताए । उनका अनुसार महिनाबारीको सवालमा भिडियो बनाएकी पंचदेव माविकी छात्रा इन्दिरा महत प्रथम, बाल विवाह, कारण र असरबारे भिडियो बनाएका जनजीवन मावि ताडीका सन्तोष शाही द्वितीय, लैंगिक तथा यौनजन्य हिंसासम्बन्धी भिडियो बनाएकी महादेव आवि बालमन्दिरकी छात्रा अनुस्का शाही तृतीय र लागूऔषध दुर्व्यसनसम्बन्धी पंचदेव माविका छात्र तपेन्द्र विश्वकर्माले बनाएको भिडियोले सान्त्वना पुरस्कार पायो ।
त्यस्तै, मौलिक कथा लेखन तथा वाचन प्रतियोगितामा महादेव आविकी भूमिका थापा प्रथम, पंचदेव माविका भरत परियार द्वितीय, भवानी आवि मेग्रका तपेन्द्र विक तृतीय भए भने जनजीवन मावि ताडीकी छात्रा धनशोभा पाण्डेले सान्त्वना पुरस्कार पाइन् ।
कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठन सीप विकासका लागि आयोजना गरिएको अक्षरसँग खेल प्रतियोगितामा महादेव आविका मानवहादुर शाही प्रथम, भवानी आवि मेग्रका खगेन्द्र विक द्वितीय, नैनेलदेव अविकी अन्जली बराल तृतीय र चिनारी आविका शिवानी विकले सान्त्वना पुरस्कार पाए ।
सधैंजसो राजनैतिक मेला लाग्ने कालिकोटमा स्थानीय सरकारको पहलमा संचालन भएको पालिकास्तरीय पढाइ मेला विशेष आकर्षण बनेको जनज्योति आवि गैराका शिक्षक दानबहादुर विकले बताए । 'मेलाले विद्यालयबीच पनि पढाइका लागि प्रतिस्पर्धा गर्ने वातावरण निर्माण भयो,' उनले भने, 'यसले कक्षाकोठा पनि छापामय बनाउन सहयोग पुग्नेछ ।'
मेलाले दुर्गमका भाइबहिनीको प्रतिभा पहिचान गर्न पनि सहयोगी भएको नगरपालिकाका सामाजिक समिति संयोजक तथा ८ नं वडाध्यक्ष नन्दबहादुर मल्लले बताए । उनले खाँडाचक्रको खस्किँदो शैक्षिक गुणस्तर सुधार्न शिक्षक व्यवस्थापन, नियमित विद्यालय अनुगमन, भौतिक पूर्वाधार सुधारसहित विद्यालयमा महिनावारी स्वच्छता, खानेपानी तथा सरसफाइलगायतका क्षेत्रमा लगानी गरेको जानकारी दिए । मेला निकै फलदायी भएको मेलामा विद्यालयको मूल्यांकन टोलीका सदस्य कमल शाहीले बताए ।
