४० वर्षमा एसईई दिएका वडाध्यक्ष ३.२० जीपीए ल्याएर उत्तीर्ण 

संघीयतापश्चात् राजनीतिमा प्रवेश गरेर २०७४ मा वडा सदस्य भएका उनी २०७९ मा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वैशाख ३१, २०८३

विप्लव महर्जन

Ward chairman who took SEE in 40 years passes with 3.20 GPA

What you should know

सल्यान — पढाइलाई उमेरले छेक्दैन भन्ने उखानलाई प्रमाणित गर्दै ४० वर्षको उमेरमा एसईई परीक्षा दिएका सल्यानको दार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुदीप केसी ३.२० जीपीए ल्याएर उत्तीर्ण भएका छन् । केसीले दार्माकोटस्थित नेपाल राष्ट्रिय मावि परीक्षा केन्द्रबाट गत चैतमा एसईई परीक्षा दिएका थिए ।

घरमै बसेर पढी ३.२० जीपीए ल्याएर उत्तीर्ण भएपछि आफ्नो पढ्ने चाहना पूरा हुने भन्दै वडाध्यक्ष खुसी भएका छन् । उनले जिल्लामै बसेर ११/१२ पढ्ने तयारी गरिसकेका छन् । केसी २०७४ मा वडा सदस्य हुँदै २०७९ मा वडाध्यक्ष भएका थिए ।  २०६२ सालमा कक्षा १० मा पढ्दै गर्दा  टेस्ट परीक्षा दिएलगत्तै स्थानीय युवाको लहैलहैमा लागेर कमाइ गर्न भारतका विभिन्न स्थानमा गएको र पारिवारिक जिम्मेवारीले विभिन्न किसिमका काममा भुल्दा एसएलसी परीक्षा दिन नपाएको उनले बताए । पढाइ छुटेको २० वर्षपछि अहिले उनले एसईई परीक्षा दिएका थिए । 

उनी भन्छन्, ‘त्यतिबेला पढ्नेतर्फ युवाले खासै रुचि राख्दैनथे । १४ वर्ष पुगेपछि प्रायः सबै कमाउनका लागि भारतका विभिन्न ठाउँमा जान्थे । टेस्ट परीक्षा दिएर म पनि साथीसँग लागेर भारतको पौडी गडवाल गएँ । त्यहाँ चार वर्ष काम गरेर २०६६ मा घर फर्किएँ ।'

घरमा त्यत्तिकै बस्नु भन्दा केही गर्नुपर्छ भने मनसायले लगत्तै वैदेशिक रोजगारीका लागि मलेसिया गए । त्यहाँ चार वर्ष बिताए । मलेसियाबाट कमाइ ल्याएको रकमले जेसीवी किनेर चलाए । पैसा कसरी कमाउने भन्ने सोचमै विभिन्न काममा अल्मलिए । 'पढ्नु पर्छ भन्नेतर्फ ध्यानै गएन,' उनले भने ।

संघीयतापश्चात् राजनीतिमा प्रवेश गरेर २०७४ मा वडा सदस्य भए । २०७९ मा वडाध्यक्षमा निर्वाचित भए । वडा कार्यालयमा काम गर्दै जाने क्रममा र विभिन्न ठूला ब्यक्तिसँग भेटघाट बढ्दै गएपछि पढ्नु पर्छ, पढाइजत्तिको अरू केही छैन, राजनीति गर्नलाई पढाइ अति आवश्यक छ भन्ने चेत आयो । 'वडाकै विद्यालयमा कक्षा १० मा भर्ना भई एसईई परीक्षा दिएँ । आफ्नो लगन र मिहिनेतले पहिलो पटकमै सफल भएँ,’ उनले भने ।

एसईई परीक्षामा राम्रै अंक ल्याएर उत्तीर्ण भएपछि हौसिएका वडाध्यक्ष केसीले आफ्नो काम प्रभावित नहुने गरी पढाइलाई निरन्तरता दिदै प्लस टू भर्ना हुने तयारी गरेको जानकारी गराए । ‘वडाध्यक्ष भइरहेकाले बाहिर जान गाह्रो हुन्छ । वडाबासीको काममा खटिनु पर्छ  । त्यही भएर आफ्नै पालिकामा रहेको विद्यालयमा प्लस टूमा भर्ना हुन्छु,’ उनले भने, ‘पढाइजत्तिको ठूलो केही छैन । पछिल्लो समयमा पढाइबिनाको राजनीति काम छैन । त्यसैले पढ्न आवश्यक  देखेको छु ।’ 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully