अनलाइन बेटिङ र शंकास्पद कारोबारमा संलग्न तीन पक्राउ

पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका ९ का ३९ वर्षीय महेन्द्रकुमार बोहरा, ४२ वर्षीय यामलाल विक र ४४ वर्षीय डम्बर विक रहेका छन् ।

वैशाख ३०, २०८३

ज्योति कटुवाल

Three arrested for online betting and suspicious transactions

सुर्खेत — अनलाइन जुवा (बेटिङ) खेलाउने तथा बैंक खाता दुरुपयोग गरी शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार सामाजिक सञ्जाल तथा इन्टरनेट माध्यम प्रयोग गरी अनलाइन जुवा सट्टेबाजी सञ्चालन भइरहेको गोप्य तथा प्राविधिक सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू संलग्न रहेको खुलेपछि पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका ९ का ३९ वर्षीय महेन्द्रकुमार बोहरा, ४२ वर्षीय यामलाल विक र ४४ वर्षीय डम्बर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुटथापाका अनुसार शिक्षक पेशामा संलग्न बोहराले विभिन्न बैंकमा ६ वटा खाता खोली अनलाइन बेटिङ तथा ठगीमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उनको खातामार्फत करिब २ करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको प्रहरीले जनाएको छ । यस्तै, व्यवसायी यामलाल विकले विभिन्न बैंकमा ५ वटा खाता सञ्चालन गरी शंकास्पद कारोबार गरेको तथा होटल व्यवसायी डम्बर विकले ९ वटा बैंक खाता खोली दुरुपयोग गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई नियन्त्रणमा लिएर बैंकिङ कसुर, जुवा सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully