हुरीले छाना उडाएपछि एउटै कोठामा पढ्छन् तीन कक्षाका विद्यार्थी

छाना मर्मत गर्न नसक्दा कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परेको विद्यालयका प्रधानाध्यापक रेशम गिरीले बताए ।

वैशाख २९, २०८३

विप्लव महर्जन

Three grade students study in the same room after a storm blew off their roof

What you should know

सल्यान — हुरीले उडाएको छाना मर्मत गर्न नसक्दा शारदा नगरपालिका–१४ माल्नेटास्थित लक्ष्मी आधारभूत विद्यालयमा तीन कक्षाका विद्यार्थीलाई एकै कोठमा राखेर पढाउनु परेको छ । 

विद्यालयको चार कोठे भवनको जस्ताको छाना गत साताको हुरीले उडाएपछि तीन कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढन बाध्यता आएको हो । छाना मर्मत गर्न नसक्दा कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परेको विद्यालयका प्रधानाध्यापक रेशम गिरीले बताए । 

कक्षा ८ सम्म संचालित विद्यालयमा जम्मा ४२ जना विद्यार्थी छन् । कक्षा १, २ र ३ मा २० जना विद्यार्थीलाई एउटै कोठामा राख्नु पर्दा पठनपाठन गराउन कठिनाई भएको उनले जानकारी दिए । ‘हुरीले छाना फालेको चार कोठे भवनमा पहिला ४, ५ र ६ का विद्यार्थी राखेर पढाउने गरेका थियौं । उनीहरुलाई १, २ र ३ का विद्यार्थी बस्ने कोठाहरुमा सारेका छाैं । १ देखि ३ सम्म विद्यार्थी २० भन्दा कम भएकाले अर्को कोठामा राखेका छौं,’ उनले भने ।

नगरपालिकाको प्राविधिक टोलीले नापजाँच गर्दा हुरीले ३ लाख रुपैयाँ बढीको क्षति भएको पाइएको छ । 
विद्यालयमा स्रोत नहुँदा छाना मर्मत गर्न सक्ने अवस्था नभएको प्रअ गिरीले बताए । वडा कार्यालयमा बजेट माग गरे पनि आर्थिक वर्षको अन्तिम भएकाले प्राप्त हुने सम्भावना नदेखिएपछि पालिकासित माग गरेको उनले बताए ।  भवन मर्मत नहुँदासम्म विद्यार्थीलाई एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको उनले बताए । 

उनका अनुसार नियमितजसो वर्षात भइरहेकाले पुरानो तथा जीर्ण भवन पनि भत्किने जोखिम बढेको छ । २०४४ सालमा स्थापना भएको विद्यालयको सबै भवन पटक पटक मर्मत भए पनि जीर्ण भइसकेको उनले बताए ।  

शारदा नगरपालिका–१४ का वडाध्यक्ष प्रकाश पुनले आर्थिक वर्षको अन्तिम समयमा सबैजसो बजेट सकिएका कारण हुरीले क्षति पुगेको विद्यालय भवन तत्काल मर्मत गर्न नसकिएको बताए । मर्मतका लागि पालिकामा माग गरिएको उनले दिए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully