कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार अब कर्णालीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने पालो आएको सभापति गगन थापाले बताएका हुन् ।
What you should know
सुर्खेत — नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णाली प्रदेशमा अब कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।कांग्रेसको कर्णाली प्रदेशस्तरीय दुईदिने भेलालाई सम्बोधन गर्न सोमबार सुर्खेत पुगेका थापाले कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार अब कर्णालीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने पालो आएको बताएका हुन् ।
‘कांग्रेसको समर्थनमा एमाले सरकारमा थियो,’ थापाले भने, ‘अब समझदारीअनुसार कांग्रेसले सरकारको नेतृत्व गर्छ ।’ थापाले पार्टीभित्र अनुशासन र सुशासनमा कुनै सम्झौता नहुने बताएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधि वा नेता आर्थिक अनियमिततामा संलग्न भएको प्रमाण भेटिए आफूले नै कारबाही गर्ने चेतावनी दिए ।
‘हाम्रा साथीहरू कुनै पनि प्रकारको आर्थिक अपचलनमा संलग्न भएको तथ्य–प्रमाण भेटियो भने अख्तियारले कारबाही गर्नुपर्दैन, अख्तियारभन्दा अघि मैले कारबाही गर्छु,’ उनले भने, ‘पार्टीलाई बदनाम गर्ने छुट कसैलाई छैन ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कांग्रेसको ‘दुश्मन’ नभई प्रतिस्पर्धी शक्ति भएको बताए । सरकार सञ्चालनमा रहेका दल वा सरकारका गतिविधि गलत भए खबरदारी गर्नु विपक्षको दायित्व हुने बताए । ‘रास्वपा हाम्रो दुश्मन होइन, प्रतिस्पर्धा गरेको पार्टी हो,’ थापाले भने, ‘तर सरकारका कामकारबाही गलत भए खबरदारी गर्ने जिम्मेवारी हाम्रो हो ।’
संविधानमाथि कुनै प्रकारको हस्तक्षेप भए देश फेरि अस्थिरतातर्फ जाने खतरा रहेको उनले बताए । ‘यत्रो दुःख गरेर ल्याएको संविधान तलमाथि हुनुहुँदैन,’ थापाले भने, ‘संविधान कमजोर भयो भने देश दुर्घटनातर्फ जान्छ र त्यसको पीडा नागरिकले भोग्नुपर्छ ।’
कार्यक्रममा कर्णाली प्रदेश संसदीय दलका नेता, मन्त्री, सांसद, गत निर्वाचनका उम्मेदवार तथा प्रदेशभरका पालिका प्रमुख र उपप्रमुखको सहभागिता थियो । थापाले अब पार्टीलाई भाषणभन्दा काम र परिणाम आवश्यक रहेको भन्दै कार्यकर्तालाई जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिए । ‘हामीलाई अब काम चाहिएको छ, परिणाम चाहिएको छ,’ उनले भने ।
