यार्चा टिप्दै कलिला हातहरू

यार्चा टिप्न वैशाखदेखि साउनसम्मै विद्यार्थीहरू  हिमाली पाटनतिर उक्लिन्छन् । भविष्यको जोहो गर्न कलिला विद्यार्थी पाटनतिर हिाडेपछि गाउँका विद्यालय रित्ता र सुनसान देखिन्छन् ।

वैशाख २८, २०८३

डीबी बुढा

Young hands picking the yam

What you should know

जुम्ला — र्चागुम्बु टिप्न पाटनतिर हिँड्ने तयारीमा छन्– जुम्ला पातारासी गाउँपालिका–३ चौरगाउँका दिलराज रावत । आफ्ना थुप्रै साथी पाटन पुगेर यार्चा खोज्न व्यस्त भइसके । त्यो खबरले उनलाई महसुस गराएको छ– अब ढिलो भइसक्यो । 

दिलराजका लागि पाटनको यो यार्चा–यात्रा नौलो होइन । बितेका तीन वर्षदेखि यार्चा टिप्न उनी निरन्तर हिमालका पाटनहरू पुगिरहेकै छन् । तर, कलिलै उमेरमा पढाइ छाडेर पाटनको कठिन यात्रा गर्नु उनको रहर होइन, बाध्यता हो । वर्षभरिको कापी–कलम र पढाइ खर्च जुटाउन प्रत्येक वर्ष पाटन उक्लिन्छन् दिलराज र उनका साथीहरू । उनको अनुभव छ– सामान्यतया  एक सिजनमा साढे दुई सयदेखि तीन सय वटासम्म यार्चा टिपेर फर्किएको । र, दिलराजहरू पाटनतिर उक्लिँदा उनको गाउँका विद्यालयचाहिँ सुनसान हुन्छन् । 

पाटनका पाखामा दुःखले बटुलेको यार्चा नै दिलराज र उनका साथीहरूको भविष्यको आधार हो । पाटनबाट गाउँ फिरेर प्रतिगोटा ५ सय रुपैयाँका दरले यार्चा बिक्री गरे एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने आशा छ– दिलराजको । यो पैसाले उनी कापी–कलम मात्रै किन्दैनन्, यार्चा टिप्न पाटनतिर जाँदा छुटेको आफ्नो पढाइको ‘कोर्स’ पूरा गर्न हिउँदमा ट्युसन पनि पढ्छन् । ‘यार्चा टिप्न पाटन जाँदा पढाइ त छुट्छ नै,’ दिलराज भन्छन्, ‘तर, पढ्नका लागि चाहिने पैसा पनि कमाइन्छ ।’ यसरी दिलराज पातारासीका छापखोला, ताक्लेखोला, माथिनथान र च्यांग्रीजस्ता दर्जनभन्दा बढी उच्च हिमाली पाटनमा दुई महिनासम्म असाध्यै दुःख गर्छन् । र, अन्त्यमा साथीहरूसँगै घर फर्किन्छन् ।

Young hands picking the yamयार्चा पाइने भूगोल कठिन छ, तर पढाइको चिन्ता पनि सँगै छ । त्यसैले दिलराजको यार्चा–यात्रा सपना खोजको यात्रा हो । मालिका मावि लोड्चौरमा अध्ययनरत दिलराजले यस पटक एसईई दिए । विद्यालयको तथ्यांकले भन्छ– २०८० मा माथिल्लो कक्षाका ५५ विद्यार्थीमध्ये ५० र २०८२ सालमा ४८ जनामा ३७ विद्यार्थी यार्चा खोजीमा पाटन पुगेका थिए । यस पटक विद्यालय नखुल्दै उनीहरू पाटन हिँडिसकेका छन् । प्रधानाध्यापक जगतबहादुर शाहीका अनुसार, कक्षा ६ देखि १० सम्मका ठूला विद्यार्थी सबै यार्चा टिप्न पाटन जान्छन् । ‘त्यसैले यहाँ दुई महिना त पढाइ नै हुँदैन,’ शाही भन्छन्, ‘विद्यार्थी सबै पाटन जान्छन्, मावि तहका शिक्षकको काम हाजिर लगाउने मात्रै हो ।’

माथिल्लो कक्षाका विद्यार्थी पाटन पुग्दा तल्लो कक्षाका अधिकांश विद्यार्थीचाहिँ गाईबस्तु चराउन पाखातिर जान्छन् वा ती घरायसी काममै व्यस्त रहन्छन् । पढ्ने विद्यार्थी नै नभएपछि दुई महिनाजति यहाँका विद्यालय पूरै सुनसान हुन्छ । विद्यार्थीलाई पाटन पठाइदिन अनुरोध गर्दै अभिभावक आफैं विद्यालय धाउँछन् । ‘हामी अभिभावकलाई निरन्तर बालबालिका विद्यालय पठाइदिन आग्रह गर्छौं,’ शाही भन्छन्, ‘तर, अभिभावकहरू विद्यार्थीलाई यार्चा टिप्न पाटन पठाउन चाहन्छन् । अनि बिदा दिन दबाब दिइरहन्छन् ।’ गाउँपालिकाले विद्यार्थीलाई पाटन नपठाउन प्रत्येक वर्ष अभिभावक र शिक्षकसँग अनुरोध गरिरहन्छ । तर, यार्चा प्रत्यक्ष आम्दानीसँग जोडिएको विषय भएकाले शिक्षकले चाहिँ विद्यार्थीलाई ‘विद्यालय आउनैपर्छ’ भनेर करकाप गर्न सकिरहेका छैनन् । 

पातारासीका शिक्षा शाखा प्रमुख रामचन्द्र रेग्मीको अनुभव छ– जति नै प्रयास गरे पनि यार्चा टिप्न गइरहेका विद्यार्थी रोक्न सकिएन । ‘हामी पढाइमा जोड दिन्छौं,’ उनी भन्छन्, ‘विद्यार्थी र अभिभावक कमाइ चाहन्छन् । त्यसैले गाउँपालिकाले पाटन जाने विद्यार्थी रोक्न सकिरहेको छैन ।’

पातारासीका सबै विद्यालयबाट अधिकांश विद्यार्थी पाटन पुग्छन् । पातारासी–१, २ र ३ नम्बर वडाका विद्यार्थीहरू पाटन जाँदा विद्यालय नै रित्तो हुन्छ । उनीहरू वैशाखमा पाटन जान्छन्, असार वा साउनमा मात्रै घर फर्किन्छन् । पाटन जाने विद्यार्थीहरू ट्युसनकै भरमा परीक्षामा सहभागी हुन्छन् । पातारासीमा १६ विद्यालय छन् । ‘हामी पढाइ छाडेर पाटन जान हुन्न भन्छौं,’ शाखा प्रमुख रेग्मी भन्छन्, ‘उनीहरू कमाइ नभए पढाइको कामै नहुने भन्छन् र पाटन गइरहन्छन् ।’

यहाँका छात्रछात्रा यार्चा खोजीमा जुम्लाका पाटनहरूमा मात्रै सीमित रहँदैनन्, डोल्पा र मुगुका उच्च पाटनसम्मै पुग्छन् । कोही अभिभावकको पछिपछि त कोही आफ्नै साथीभाइको छुट्टै समूह बनाएर पाटन यात्रा गर्छन् । पातारासी–२ पेरेकी रिमा बुढाका अनुसार, यार्चाको मौसम सुरु भएपछि विद्यार्थीहरू विद्यालयको कक्षाकोठाभन्दा पाटनका पाखाहरू रोज्छन् । पाटनमा यार्चा टिप्नु तिनका लागि 

आफ्ना लुगाफाटा, कापी–कलम र घरखर्च जुटाउने एक बलियो आधार पनि बनेको छ । र, यसरी कलिला हातहरू हिमालका पाटनमा भविष्य खोज्छन् । 

Young hands picking the yamदुई महिनासम्म यस पालिकाका अधिकांश घरमा ताला लागेको हुन्छ । युवायुवतीदेखि बालबालिकासम्मै पाटन जाने भएकाले गाउँमा बूढाबूढी मात्रै भेटिन्छन् । विद्यार्थीलाई पाटन पठाउनु बाध्यता भएको रिमा सुनाउँछिन् । विद्यार्थी सबै पाटन जानुपरेकाले पाठ्यक्रम नसकिँदै उनीहरू परीक्षामा सामेल हुनुपर्ने बाध्यता रहेको शिक्षक बताउँछन् । र, यसबीच पढाइ अघि बढाउँदा अधिकांश विद्यार्थीको पढाइ छुट्छ । ‘नपढाउने हो भने पाठ्यक्रम पूरा गर्न सकिँदैन,’ प्रधानाध्यापक शाही भन्छन्, ‘यार्चा पाइने मौसममा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन अब नयाँ विकल्प खोजी गर्नुपर्छ । तर, त्यो विकल्प अझै भेटिएको छैन ।’

गएको वर्ष विद्यालयले कक्षा छाडेर विद्यार्थी पाटन जान नपाउने र विद्यालयमा ७५ प्रतिशत हाजिर नभए माथिल्लो कक्षा जान योग्य नहुनेसम्मको निर्णय गर्‍यो । तर, प्रधानाध्यापकको भेलाबाट गरिएको त्यो निर्णयले पनि काम गरेन । अब यो सिजनमा कम्तीमा ७५ प्रतिशत विद्यार्थी पाटन जाने तयारी गर्दै छन् । वैशाखदेखि साउनसम्म सबै युवा र विद्यार्थी पाटनतिरै जाने भएकाले दुर्घटना बिमाको व्यवस्था गर्न यार्चा संकलकले स्थानीय सरकारसँग माग गरेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully