मुसलधारे वर्षासँगै आएको बाढीले शनिबार सल्यानमा सडक, खानेपानी, सिँचाइलगायत सयाैं याेजना र बाली तथा फलफूलमा ठूलो क्षति गरेको छ ।
What you should know
सल्यान — दुई घण्टा लामो मुसलधारे वर्षासँगै शारदा नदी र खहरेखोलामा आएको बाढीले शनिबार दिउँसो सल्यानको बाग्चौर नगरपालिका–६, ७, ८, ९, १० र छत्रेश्वरी गाउँपालिका–१ र २ का दर्जनौं योजनामा क्षति पुर्याएको छ ।
खोलामा आएको बाढीले दुई दर्जन भन्दा बढी सडक, दर्जन बढी खानेपानी, सिँचाइ कुलो, तटबन्धनमा क्षति पुर्याएको हो । शारदा नदीले एक सय रोपनी भन्दा बढी खेतमा पोकेको गहुँ, तरकारी र सुन्तलामा क्षति पुर्याएको हो । बाढीले जलाउँदै गरेको शव, गहुँ बोकेको ट्याक्टर र पानीघट्ट पनि बगाएको थियो । वर्षाकै कारण पहिरो जाँदा दुई घरमा पनि क्षति पुगेको छ ।
बाढीपहिरोले सडक चिराचिरा पर्दा, कल्भर्ट, ह्युमपाइप बगाउँदा बाग्चौर नगरपालिकाका पाँच वडाका बिभिन्न सडकमा आइतबार पनि यातायात अवरुद्ध छ । बाढीले खानेपानीको मुहान पुर्नुका साथै पाईप बगाउँदा र ट्यांकीमा क्षति पुग्दा स्थानीय प्रभावित भएका छन् ।
बाग्चौर नगरपालिका–९ का अध्यक्ष यत्रबहादुर डाँगीले आएको बाढीले वडाभित्रका तीन दर्जन नयाँ पुराना सडक क्षतविक्षत बनाएको, चार खानेपानी योजनाको मुहान पुरेको, ट्यांकीमा क्षति पुर्याएको, पाइप बगाएको, स्थानीयको घट्ट बगाएको र दुई स्थानीयको घरमा क्षति पुर्याएको बताए । लगातार दुई घन्टा बढीको बर्षातले किसानले लगाएको अदुवा, आलु र सुन्तलामा समेत क्षति पुगेको उनले जानकारी दिए । उनका अनुसार वर्षातसँगै शारदा नदी र खहरेखोलामा आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको छ । सडक बिग्रदा गाडी चल्न सकेका छैनन् भने विभिन्न बस्तीका ३ सय बढी परिवार खानेपानीको लागि मुहान धाउन बाध्य भएका छन् ।
वडा ६ का अध्यक्ष ज्ञानबहादुर वलीले गत वर्ष मात्र सम्पन्न भएको ५० लाखको हिमचौर खानेपानी योजनामा बाढीले क्षति पुर्याएपछि १ सय २० परिवार पूर्णरुपमा प्रभावित भएको बताए । योजनामा क्षति पुगेपछि बिहानैदेखि धेरै समय हिँडेर नजिकका मुहानमा धाउनु परेको उनले बताए ।
वडा ७ का अध्यक्ष प्रेमबहादुर डिसीले खोलामा आएको बाढीले दर्जन भन्दा बढी सिँचाइ कुलो, ६/७ वडा खानेपानीका साना ठूला योजनामा क्षति पुर्याएको, एक सय रोपनी भन्दा बढी खेत पुरेको, सडकमा राखेको ह्युमपाइप, कल्भर्ट बगाएको बताए । खानेपानीको योजनामा क्षति पुग्दा २ सय बढी परिवार प्रभावित भएका उनले जानकारी दिए ।
वडा ८ का अध्यक्ष ज्ञानप्रसाद शर्माले कालाखेतमा निर्माणाधीन तटबन्ध र वडा ८ का अध्यक्ष सुशीलजंग चन्दले चार खानेपानीको योजनाको मुहान पुरेको बताए । बाढीले विभिन्न योजनामा क्षति पुर्याएपछि अहिले नगरपालिकामा मर्मतका बारेमा छलफल भइरहेको चन्दले जानकारी दिए ।
यता छत्रेश्वरी गाउँपालिका–१ का वडाध्यक्ष प्रकाश हमालले बाढीले फारुली दहखोली लाखुरीबोटमा निर्माणाधीन पदमार्गको स्ल्याब ढलान बगाएको र लसुने काफलाबाङ्ग खानेपानीको योजनामा क्षति पुर्याएको बताए । खानेपानीको योजनामा क्षति पुर्याउँदा दमाचौर बजारका २ सय ५० परिवार प्रभावित भएका उनले जानकारी दिए । उनका अनुसार बर्षातसँगैको असिनाले किवी र सुन्तलामा थप क्षति पुर्याएको छ ।
