स्थानीयलाई त्रसित बनाउने चितुवालाई सेनाले नियन्त्रणमा लियो

बाँके राष्ट्रिय निकुन्जमा खटिएको सेनाको टोलीले आम्बास बस्ती नजिकै जंगलबाट नियन्त्रणमा लिएको हो ।

वैशाख २७, २०८३

विप्लव महर्जन

Army captures leopard that terrorizes locals

सल्यान — सल्यानको कालिमाटी गाउँपालिका–७ आम्बासमा बस्ती नजिकैबाट चितुवालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । बाँके राष्ट्रिय निकुन्जमा खटिएको सेनाको टोलीले आम्बास बस्ती नजिकै जंगलबाट नियन्त्रणमा लिएको हो ।

चितुवाले जंगलमा चराउन लगेका तथा घरमै बाधेर राखेका पशुचौपाया मारेर खान थालेपछि त्रसित भएका स्थानीयले चितुवा नियन्त्रणमा लिन माग गरेपछि निकुञ्जमा खटिएका नेपाली सेनाको टोलीले पासो थापेर नियन्त्रणमा लिएको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए ।

नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको चितुवालाई सुरक्षित स्थानमा लगेर छाडेको उनले जानकारी गराए । ‘चितुवाले दैनिक जसो स्थानीयले पालेका बाख्रा मारेर खाई हैरान बनाएको थियो । स्थानीयलाई घरबाट बाहिर कतै आउजाउ गर्दा र घर नजिकैको जंगलमा गएर घाँसपात गर्न गाह्रो भएको थियो । स्थानीय असुरक्षित थिए । सेनाले चितुवा नियन्त्रणमा लिएपछि स्थानीय त्रास मुक्त भएका छन्,’ उनले भने । 

बाँके राष्ट्रिय निकुन्जका कारण सीमा क्षेत्रमा पर्ने कालिमाटी गाउँपालिका–७ घुईयाबारी बस्ती नजिकै आसपासमा बाघले गत पुषमा दुई जनाको ज्यान लिएकाले जंगली जानवरको त्रास यथावत रहेको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully