कर्णालीका विद्यार्थीलाई भर्नासँगै पुस्तक

अहिलेसम्म सबैभन्दा धेरै १७ हजार ९ सय ८४ थान किताब दैलेखमा र सबैभन्दा कम जाजरकोटमा ५ हजार ६ सय ६६ थान गएको केन्द्रको तथ्यांक छ ।

वैशाख २३, २०८३

तुलाराम पाण्डे, कृष्णप्रसाद गौतम

Karnali students to receive books upon admission

What you should know

सुर्खेत/कालीकोट — कालीकोटको रास्कोट नगरपालिकास्थित बडिमालिका माध्यमिक विद्यालयकी छात्रा जयन्ती बराल यो वर्ष कक्षा ६ मा भर्ना हुनबित्तिकै नयाँ किताब पाउँदा दंग छिन् ।

‘पोहर त विद्यालयले दिएको पुरानो किताबले नै कक्षा ५ सकियो,’ उनले भनिन्, ‘पहिलोपल्ट नयाँ किताब पाइयो, नयाँ पुस्तक पाएपछि पढ्न पनि जाँगर लाग्नेछ ।’ कक्षा ९ का छात्र हिक्मत शाहीले पनि सुरुकै दिन किताब पाउँदा खुसी लागेको बताए । ‘पहिले त पूरै किताब कहिल्यै नआउने, साथीको किताब हेरेर पढ्दा सरले पढाएको नबुझिने समस्या थियो,’ उनले भने, ‘नयाँ किताबले पढाइमा उत्साह थपिएको छ ।’

बडिमालिका माविका प्रधानाध्यापक पुष्पराज बरालले पहिलोपल्ट पूरै सेट किताब पाउँदा विद्यार्थी खुसी भएको बताए । उनका अनुसार गत वर्षसम्म ढुवानी व्यवसायीले ढिलो गरेर पुस्तक विद्यालयमा पुर्‍याउने गरेका थिए भने पूरै सेट किताब नपुग्दा विद्यार्थीलाई पुरानो पाठ्यपुस्तक वितरण गर्नुपर्ने बाध्यता थियो । उनका अनुसार विद्यालयमा अहिलेसम्म ३ सय १२ जना विद्यार्थी भर्ना भएका छन् । उनीहरू सबैले भर्नासँगै किताब पाएको उनले जानकारी दिए । भर्ना भएकामध्ये छात्राको संख्या बढी छ । अहिलेसम्म १ सय ९७ छात्रा र १ सय १५ छात्र भर्ना भएको विद्यालयले जनाएको छ । 

कालीकोटको जनजीवन माध्यमिक विद्यालयमा भर्ना भएका ४ सय ७० जना विद्यार्थीले पनि भर्ना भएसँगै किताब पाइसकेका छन् । ‘नयाँ किताब पहिलोपल्ट पाएपछि उनीहरूको खुसी नै छुट्टै छ,’ विद्यालयका प्रधानाध्यापक तेजबहादुर शाहीले भने, ‘पुराना किताब पढ्नुपर्ने बाध्यताबाट यो वर्ष विद्यार्थीले मुक्ति पाए ।’ 

कर्णालीमा ३ हजार २६ सामुदायिक विद्यालय छन् । जसमा गत वर्ष ५ लाख ९५ हजार ५ सय ९९ विद्यार्थी भर्ना भएका थिए । यस वर्ष पनि त्यही हाराहारीमा विद्यार्थी भर्ना हुने शिक्षा विकास निर्देशनालयको अनुमान छ । ‘सबैजसो विद्यालयले पढाइ सुरु गरिसकेका छन्,’ निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले भनिन्, ‘केही विद्यालयमा भर्नासँगै पढाइ पनि भइरहेको छ, भर्ना भएका सबै विद्यार्थीले किताब पाइसकेका छन् ।’

जनक शिक्षा सामग्री केन्द्रको तथ्यांकले पनि त्यसलाई पुष्टि गर्छ । केन्द्रका अनुसार कर्णालीभरि झण्डै १ लाख २० हजार सेट किताब आवश्यक पर्नेमा ८० हजार ८ सय ६८ सेट किताब विद्यालयमा पुगिसकेका छन् । ‘विद्यालय र स्टेसनरीहरूमा पनि गत वर्षका केही किताब मौज्दात हुन्छन्,’ केन्द्रकी प्रादेशिक प्रमुख जमुना ढकालले भनिन्, ‘केही कक्षाका किताब निजी क्षेत्रले छाप्ने हो, उनीहरूमार्फत पनि वितरण हुन्छ, अहिलेसम्म झण्डै ८० प्रतिशत किताब विद्यालयमा पुगिसके ।’

अहिलेसम्म सबैभन्दा धेरै १७ हजार ९ सय ८४ थान किताब दैलेखमा र सबैभन्दा कम जाजरकोटमा ५ हजार ६ सय ६६ थान गएको केन्द्रको तथ्यांक छ । केही विद्यार्थी अभिभावकसँगै जिल्लाबाहिर गएकाले पनि अझै विद्यालयहरूमा भर्ना अभियान चलिरहेको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए । ‘यहाँका धेरैजसो अभिभावक मजदुरीका लागि भारत जान्छन्, परीक्षा सकेको मौकामा केही विद्यार्थी अभिभावक भेट्न उता गएको देखियो,’ उनले भने, ‘कतिपय विद्यार्थी जडिबुटी टिप्न, जिल्लाबाहिर अभिभावकसँग मजदुरी गर्न पनि गएका छन् ।’ उनका अनुसार झण्डै ८० प्रतिशत विद्यार्थी भर्ना भइसकेका छन् भने करिब २० प्रतिशत विद्यार्थी भर्ना हुन अझै बाँकी छ ।   

जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा झण्डै ८० प्रतिशत किताब पुर्‍याएका व्यवसायीले अब विद्यालयहरूको मागका आधारमा थप पुस्तक लैजाने छन् । एक दशकयता भर्ना अभियान सुरु नहुँदै सबैभन्दा बढी किताब यो वर्ष गएको उनको दाबी छ । गत वर्ष भर्ना अभियानका बेला कर्णालीका ५ पहाडी र ५ हिमाली जिल्लामा करिब ४० प्रतिशत किताब गएको थियो भने २०८१ मा झण्डै ४९ प्रतिशत, २०८० सालमा ४८ प्रतिशत र २०७९ मा ४५ प्रतिशत किताब बाहिर पठाइएको थियो । त्यस्तै २०७८ सालमा ४० प्रतिशत किताब पठाइएको लिमिटेडको तथ्यांक छ । त्यसभन्दा अघिका वर्षमा ३० देखि ४० प्रतिशतको हाराहारीमा किताब जाने गरेको केन्द्रको तथ्यांक छ । ‘यसपालि वार्षिक परीक्षा सकिएर ग्याप पनि धेरै भयो,’ उनले भनिन्, ‘कोर्ष पनि चेन्ज नभएकाले किताब छाप्न पनि समयमै सकियो, व्यवसायी पनि समयमै किताब लिन आए, हामीले पनि छिटो गरी पठायौं ।’

लिमिटेडले अहिलेसम्म ७ करोड ६९ लाख रुपैयाँको किताब बिक्री गरिसकेको जनाएको छ । लिमिटेडका अनुसार कक्षा ३ र ५ देखि १० कक्षाको किताब जनक शिक्षाले वितरण गर्छ भने कक्षा १, २ र ४ कक्षाका पाठ्यपुस्तक प्रकाशन र वितरणको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । लिमिटेडले प्रदेशभरि पाठ्यपुस्तक वितरण गर्न ८९ वटा पुस्तक पसललाई सूचीकृत गरेको छ । 

केही स्थानीय तहमा भने पाठ्युस्तकको रकम निकासी नहुँदा विद्यालयहरूले उधारोमा किताब लिएर विद्यार्थीलाई वितरण गरेका छन् । मुगुको सोरु गाउँपालिकामा ३९ सामुदायिक विद्यालय छन् । जसमा झण्डै ५ हजार ५ सय विद्यार्थी भर्ना भएका छन् । तर पालिकाले विद्यार्थीहरूका लागि पाठ्यपुस्तकबापतको झण्डै २० लाख रुपैयाँ निकासा नदिँदा उधारोमा किताब खरिद गरिएको आधारभूत विद्यालय सोरुकोटका शिक्षक गोविन्द शाहीले बताए । दुई साताअघि सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कुशल बराल पालिकामा हाजिर भएका छैनन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेर लेखापाल निलम्बनमा परेपछि पाठ्यपुस्तकको रकम निकासा हुन नसकेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लले बताए । ‘उधारोमा भए पनि विद्यार्थीले किताब पाए,’ उनले भने, ‘यहाँका सबै विद्यालयमा पठनपाठन सुरु भइसकेको छ ।’

जुम्लाको सिंजा गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयका शिक्षक कमल नेपालीले गत वर्षसम्म कर्णालीका ग्रामीण क्षेत्रका विद्यार्थीले वर्षौंदेखि पुराना पुस्तक पढ्नुपर्ने बाध्यता भएको बताए । उनका अनुसार यस वर्ष भने भर्ना भएका झण्डै ४ सय १० विद्यार्थीले भर्नासँगै किताब पाएका छन् । उनले गत वर्षमा जनक शिक्षाले किताब समयमै नछाप्ने, छापे पनि स्थानीय तहले पाठ्यपुस्तकको रकम ढिलो निकासा दिने र रकम नपाउँदासम्म व्यवसायीले किताब नल्याउनेलगायत समस्याले विद्यार्थीले भर्नाको २/३ महिनापछि मात्र किताब पाउने समस्या थियो । ‘कुनै वर्ष त ६ महिनासम्म पनि किताब आउदैनथ्यो, काठमाडौंमा छाप्दै जिल्लातिर पठाउँदै गरिन्थ्यो,’ उनले भने, ‘कति वर्ष पुराना किताबकै भरमा विद्यार्थीलाई पढाउनुपर्‍यो ।’ 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले विगत वर्षहरूमा ग्रामीण क्षेत्रसम्म यातायात सुविधा नहुँदा पनि किताब पुग्न ढिला हुने गरेको बताए । ‘हुम्लामा यसै वर्ष गाडी गएको हो, अहिले पनि धेरै जिल्लामा सदरमुकामसम्म मात्र भरपर्दो यातायात सुविधा छ,’ उनले भने, ‘त्यहाँबाट खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता पनि केही स्थानीय तहमा अझै छ ।’ उनका अनुसार केही वर्ष अघिसम्म स्टेसनरी व्यवसायीले यातायातको समस्या देखाउँदै हिमाली जिल्लाहरूमा पुस्तक पुर्‍याउन ढिलाइ गर्ने गरेका थिए । उनका अनुसार साबिक जिल्ला शिक्षा कार्यालय हुँदा पनि पाठ्युस्तकको रकम निकासा गर्न ढिलाइ गर्ने समस्या थियो । 

पठनपाठनका लागि पाठ्यपुस्तक र विद्यार्थीबीच मनोवैज्ञानिक सम्बन्ध रहेको हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरगाउँस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जयबहादुर बमले बताए । ‘पुस्तक भए विद्यार्थीले छिटो सिक्छन्, गृहकार्यलगायत शैक्षिक क्रियाकलापमा सहभागी हुन सजिलो हुन्छ,’ उनले भने, ‘विद्यार्थीको हातमा पुस्तक नहुँदा शिक्षकलाई पनि पढाउन गाह्रो हुन्छ ।’

पुस्तकले विद्यार्थीको सिकाइ मनोवल पनि बढाउने उनले जानकारी दिए । उनका अनुसार पाठ्यपुस्तक समयमै नआउँदा कोर्स सकिन पनि समस्या हुने गरेको थियो भने त्यसले नतिजामा पनि असर पार्ने गरेको थियो । यस वर्ष विद्यालयमा भर्ना भएका ३ सय ९० विद्यार्थीले किताब पाइसकेको उनले जानकारी दिए । गत वर्ष विद्यार्थीले असारमा किताब पाएका थिए भने त्यसभन्दा अघिल्लो वर्ष साउनमा मात्रै पुस्तक आएको थियो ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully