दरबन्दीको अभावमा लक्ष अनुसार काम गर्न नसक्दा अदुवाबाली अनुसन्धान कार्यक्रम प्रभावित भएको हो ।
What you should know
सल्यान — दरबन्दीको अभावमा जिल्लाको कपुरकोट गाउँपालिका–३ कपुरकोटमा रहेको अदुवावाली अनुसन्धान कार्यक्रम प्रभावित भएको छ । दरबन्दीको अभावमा लक्ष अनुसार काम गर्न नसक्दा अदुवावाली अनुसन्धान कार्यक्रम प्रभावित भएको हो ।
कपुरकोटमा रहेको अदुवावाली अनुसन्धान कार्यक्रमले मसलावालीको रुपमा प्रयोग गरिने अदुवा र हलेदोको नयाँ जात उत्पादन, रोग किरा व्यवस्थापन, माटो परीक्षण लगायतका सात वटा परियोजनामा काम गर्दै आएको छ । दरबन्दीको अभावकै कारण उक्त कार्यक्रमले परियोजना अनुसारको प्रयाप्त मात्रामा उन्नत जातका बिउ उत्पादन गर्न सकेको छैन भने नयाँ कार्यक्रम ल्याउन सकेको छैन ।
देशभरीका सातै प्रदेशमा कार्यक्रम गर्दै आएको अदुवावाली अनुसन्धान कार्यक्रमले आवश्यकता अनुसार फिल्डमा प्राविधिक खटाउन सकेको छैन । अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानका प्रमुख डा. घनस्याम भण्डारीले दरबन्दीकौ अभावमा लक्ष अनुसार काम गर्न नसकिएको बताए ।
कार्यक्रम अन्तर्गत कार्यालयमा चार जना डाक्टर, पाँच प्राविधिक, चार सहायक, तीन कार्यालय सहयोगी, एक लेखापाल, एक गाडी चालक र अन्य गरी १९ जनाको दरबन्दी रहेकोमा अहिलेसम्म एक जना डाक्टर, पाँच प्राविधिकसहित आठ जना मात्र कर्मचारी रहेको भण्डारीले जानकारी गराए ।
‘कार्यक्रममा नयाँ जात उत्पादन, रोगकिरा व्यवस्थापन, माटो परीक्षण, बाली प्रजनन विशेषज्ञ डाक्टर हुनुपर्ने हो । म रोग किरा विशेषज्ञ हुँ, तर मैले नयाँ जात उत्पादन, रोग किरा नियन्त्रण, माटो परीक्षण लगायत सबै काम हेर्नुपरेको छ । चारवटै डाक्टर भए नयाँ प्रोजेक्ट ल्याउने हुन्थ्यो । सबैले धमाधम काम गर्थे । आवश्यकता अनुसार डाक्टर नभएकाले लक्षमा पुग्न हम्मे हम्मे परेको छ,’ उनले भने, ‘दरबन्दी अनुसार डाक्टर नभए पनि कार्यक्रम अन्तर्गत हामीले अहिलेसम्म स्थानीय जातको १ सय ५ हलेदो, ६३ अदुवा, र १२ कालो जातको हलेदो संरक्षण गरिरहेका छौं । जसअन्तर्गत कपुरकोट १, कपुरकोट २ अदुवा र कपुरकोट १, कपुरकोट २ हलेदो नयाँ जात उत्पादन गरी त्यसलाई विस्तार गरेका छौं र किसानका पुर्याउन सफल भएका छौं ।’
अदुवामा गानो कुहिने रोगको समस्या व्यापक भएको र किसान समस्यामा पर्दै आएकाले लामो समयको प्रयासपछि ल्यावबाट रोग प्रतिरोधी भाइरस उत्पादन गरेर रोग नियन्त्रण प्रक्रिया अगाडि बढाउन सफल भएको डा. भण्डारीले जानकारी गराए ।
‘एउटा नयाँ जातको अदुवा, हलेदो उत्पादन गर्न दुई वर्ष लाग्छ । अहिलेसम्म हामीले धेरै नयाँ जातको अदुवा र बेसार उत्पादन गर्नुपर्थ्यो तर दरबन्दी अनुसारको डाक्टर नहुँदा र सबै काम एक जना डाक्टरले देशभरीका सातै प्रदेश हेर्नुपर्ने, त्यसमा पनि सबै काम एक्लै गर्नुपर्ने बाध्यताले सोचे अनुसार काम गर्न सकिएको छैन,’ उनले भने, ‘प्रयाप्त मात्रामा दरबन्दी नभए पनि अहिले आफूले सक्ने काम भने गरिरहेका छौं ।’
बारम्बार दरबन्दी माग गर्दै आएपछि यसपाली माग पूरा हुने आशा पलाएको उनले जानकारी गराए । पछिल्लो समयमा सातै प्रदेशमा अहिले स्रोत केन्द्र स्थापनाको काम भैरहेको र दरबन्दी अभाव भएपछि सम्बन्धित जिल्लाका कृषि विकास कार्यालय तथा कृषि ज्ञान केन्द्रसँग सहकार्य गरेर कार्यक्रम अगाडि बढाइरहेको उनको भनाइ छ ।
