कालीकोटको रास्कोटबाटै स्थायी लेखा नम्बर दिन सुरु

नागरिकलाई करको दायरामा ल्याउन सघाउने सरकारको उद्देश्य पूरा गर्न रास्कोटले स्थायी लेखा नम्बर वितरण शुभारम्भ गरेको नगर प्रमुख धर्मराज शाहीले बताए ।

वैशाख २२, २०८३

तुलाराम पाण्डे

Permanent account number issuance starts from Raskot, Kalikot

कालीकोट — यहाँको रास्कोट नगरपालिकाले स्थायी लेखा (प्यान) नम्बर दिन सुरु गरेको छ । प्यान नम्बर बनाउन कम्तीमा १० हजार खर्च गरेर सुर्खेत वा जुम्ला पुग्नुपर्ने बाध्यतामा रहेका रास्कोटलगायतका स्थानीय बासिन्दाले अब नगरबाटै उक्त सेवा पाउन थालेपछि खुसी व्यक्त गरेका छन् । 

यसअघि आन्तरिक राजश्व कार्यालय जुम्ला र सुर्खेतबाट मात्र प्यान नम्बर पाइने कर्णाली प्रदेशको रास्कोट नगरपालिकाले सोमबारदेखि करदाता सेवा दर्ता तथा सम्बन्धित प्रशासनिक सेवा प्यान नम्बर नगरपालिकाबाटै दिन सुरु गरेको नगर प्रमुख धर्मराज शाहीले बताए । 

व्यवसाय तथा कम्पनी, फर्म र व्यक्तिगत आम्दानीको हिसाब राख्ने र नागरिकलाई करको दायरामा ल्याउन सघाउने सरकारको उद्देश्य पूरा गर्न रास्कोटले स्थायी लेखा नम्बर वितरण शुभारम्भ गरेको नगर प्रमुख शाहीले हो । उनका अनुसार आन्तरिक राजस्व कार्यालय सुर्खेत र जुम्लाले स्थायी लेखा नम्बर दिँदै आएकामा अब रास्कोट थपिएको छ । 

आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत भूपेन्द्र कँडेलले रास्कोट पुगेर प्यानसम्बन्धी अभिमुखीकरणसहित सेवा शुभारम्भ गरिएको बताए । 

रास्कोट नगरपालिकामा एउटा फाँटबाट व्यवसाय दर्ता गरेर अर्को फाँटमा प्यान नम्बरको सेवा पाएपछि खुसी हुँदै भावना जनरल स्टोर्सकी सरिता सिम्खडा चौलागाईले बल्ल सिंहदरबार घरदैलोमा पुगेको महसुस भएको प्रतिक्रिया दिइन् । ‘नागरिकता, राष्ट्रिय परिचयपत्र पनि रास्कोटबाट पाउन थालिएको छ,’ उनले भनिन्, ‘व्यवसाय संचालन गर्न प्यान नम्बर लिन सुर्खेत वा जुम्ला जानुपर्थ्यो, अब त्यो पनि यतैबाट पाइने भएपछि धेरै खुसी लागेको छ ।’

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully