केदारनाथमा तीर्थयात्री बोक्दै, पढाइ खर्च जुटाउँदै जुम्लाका युवा

भीमबहादुर सबेरै उठेर यात्री खोज्छन् । आफूले धान्ने तौलअनुसारका यात्रु बोकेर लैजान्छन् । उनको बसोबास रहेको गौरीकुण्डदेखि केदारनाथसम्म २२ किलोमिटर उकालो हिँड्नुपर्छ ।

वैशाख २१, २०८३

डीबी बुढा

Youth from Jumla carrying pilgrims to Kedarnath, raising funds for their education

What you should know

जुम्ला — जुम्लाको सिञ्जा गाउँपालिका–६ का भीमबहादुर रावत अहिले भारतको कालापहाड पुगेका छन् । कक्षा १२ पास गरेका उनी स्नातक तह पढ्नका लागि खर्च जोहो गर्न वैशाख पहिलो साता त्यहाँ पुगेका हुन् । उनी केदारनाथ दर्शनका लागि आउने तीर्थयात्री बोक्छन् । 

यतिबेला केदारनाथ दर्शनको याम भएकाले श्रद्धालु बोक्न भ्याइनभ्याइ छ । भीमबहादुर सबेरै उठेर यात्री खोज्छन् । आफूले धान्ने तौलअनुसारका यात्रु बोकेर लैजान्छन् । उनको बसोबास रहेको गौरीकुण्डदेखि केदारनाथसम्म २२ किलोमिटर उकालो हिँड्नुपर्छ । मान्छे बोकेर दैनिक ५ देखि १५ हजार भारुसम्म पाउने गरेको उनी सुनाउँछन् । ‘यो उमेरमा किताब बोकेर कलेज जानुपर्ने हो,’ उनले भने, ‘आर्थिक अभावले परदेशमा मान्छे बोकिरहेको छु ।’ 

भीमबहादुरसँगै गाउँका अरू विद्यार्थी पनि केदारनाथमै छन् । मान्छेको तौलअनुसार ज्याला लिने गरेको भीमबहादुरले बताए । उनका अनुसार ८० किलोका मान्छे बोक्न २२ हजार, ७० किलोका १५ हजार र ५० देखि ६० किलोका मान्छे बोक्न १० देखि १२ हजार भारुसम्म ज्याला लिने गरेका छन् । ‘मैले ४५ देखि ७० किलोसम्मका मान्छे मात्र बोक्न सक्छु,’ उनले भने, ‘यो काम सजिलो छैन ।’ केदारनाथबाट फर्किने बेला मुस्किलले दुई–तीन हजार कमाइ हुने गरेको भीमबहादुरले बताए । 

‘सुर्खेतमा बसेर उच्च शिक्षा पढें,’ उनले भने, ‘कोठा भाडा तिरेर धेरै दिन बस्न सक्ने अवस्था रहेन । त्यसैले त मान्छे बोक्न केदारनाथ आइपुगेको हुँ ।’ यो सिजन वैशाखदेखि असोजसम्म उनी केदारनाथमै हुनेछन् । अनि हिउँदमा फर्किएर ट्युसन पढ्ने योजना बनाएका छन् । 

उनको गाउँकै हरिबहादुर रावत पनि केदारनाथमै भेटिन्छन् । कक्षा १२ उत्तीर्ण हरिबहादुरको पनि स्नातक तह पूरा गर्ने धोको छ । त्यसकै लागि उनी पैसा कमाउन केदारनाथ हान्निएका हुन् । ‘काम नगरे खान पुग्दैन,’ उनले भने, ‘पढाइलेखाइ त धेरै टाढाको विषय भइसक्यो, केही रकम कमाएपछि दसैंमा घर फर्किने योजना छ ।’ उच्च शिक्षाकै लागि अरू जिल्ला जानुपर्ने र त्यसका लागि पैसा जोहो गर्न कालापहाड आउनुपरेको उनको भनाइ छ ।

Youth from Jumla carrying pilgrims to Kedarnath, raising funds for their educationउनीहरूका साथी रमेश रावत पनि उच्च शिक्षा पढ्न आवश्यक खर्च जोहो गर्न गौरीकुण्ड पुगेका छन् । पैसा कमाएर लेखपढ गर्ने उनको इच्छा छ । यहाँबाट काम गर्न पुगेका नेपालीका अनुसार भारतका अन्य क्षेत्रको तुलनामा केदारनाथमा बढी कमाइ हुन्छ । अन्ततिर एक वर्षमा हुने कमाइ यहाँ एक महिनामै हुन्छ । तर, जोखिम धेरै छ । हिँड्न नसक्ने वृद्धवृद्धा, बालबालिकालाई उकालोमा बोकेर लैजाने काम पाइने भएकाले नेपाली युवा आकर्षित भएका हुन् । 

अहिले केदारनाथमा जुम्ला, कालीकोट, मुगु, डोल्पा, सुर्खेत, जाजरकोट, सल्यान, रुकुम, हुम्ला, बाजुरा, रुकुम पूर्वलगायत जिल्लाका युवा विभिन्न काममा संलग्न छन् । वैशाखदेखि असोजसम्म विशेष पूजाआजा र मेला लाग्ने भारतको प्रमुख तीर्थस्थल केदारनाथमा ३० हजारभन्दा बढी नेपाली ज्याला मजदुरीका लागि पुगेका छन् । जुम्लाका मात्रै ८ देखि १५ हजार जना रहेको त्यहाँ रहेका नेपाली बताउँछन् । हिन्दु धर्मावलम्बीका लागि भारतका प्रमुख चार धाममध्ये पर्ने केदारनाथ मन्दिरमा दैनिक ३५ हजारभन्दा बढी तीर्थयात्री पुग्ने गरेको अनुमान छ । केदारनाथमा हिँड्न नसक्ने तीर्थयात्रीले डन्डी (चार जनाले बोक्ने डोली), कन्डी (डोको काटेर एक जनाले बोक्ने) र घोडा प्रयोग गर्दै आएका छन् । 

गाउँमा रोजगारीका अवसर नभएकाले युवाहरू विदेशिनु परिरहेको जुम्लाका मीमबहादुर रावत बताउँछन् । १२ कक्षा उत्तीर्ण उनी पनि केदारनाथमा काम गरिरहेका छन् । उनकी श्रीमती सुर्खेतमै लोक सेवा तयारी गरिरहेकी छन् । ‘दुवै जना सँगै बसेर पढ्ने अवस्था भएन,’ उनले भने, ‘५–६ महिना कमाएपछि घर फर्किने सोच बनाएको छु ।’

Youth from Jumla carrying pilgrims to Kedarnath, raising funds for their education२०८० साउनमा केदारनाथमा पहिरो जाँदा जुम्लाको पातारासी–३ चौरगाउँका एकै घरका ७ जनासहित ९ जना बेपत्ता भएका थिए । ‘यहाँ कमाउने अवसर पनि छ, ज्यानको जोखिम पनि उत्तिकै छ,’ मीनबहादुरले भने, ‘हरेक वर्ष कहिले आउन नपरोस् भनेर पुकारिरहेका हुन्छौं । फेरि आउनुपर्ने बाध्यता भइहाल्छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully