भीमबहादुर सबेरै उठेर यात्री खोज्छन् । आफूले धान्ने तौलअनुसारका यात्रु बोकेर लैजान्छन् । उनको बसोबास रहेको गौरीकुण्डदेखि केदारनाथसम्म २२ किलोमिटर उकालो हिँड्नुपर्छ ।
What you should know
जुम्ला — जुम्लाको सिञ्जा गाउँपालिका–६ का भीमबहादुर रावत अहिले भारतको कालापहाड पुगेका छन् । कक्षा १२ पास गरेका उनी स्नातक तह पढ्नका लागि खर्च जोहो गर्न वैशाख पहिलो साता त्यहाँ पुगेका हुन् । उनी केदारनाथ दर्शनका लागि आउने तीर्थयात्री बोक्छन् ।
यतिबेला केदारनाथ दर्शनको याम भएकाले श्रद्धालु बोक्न भ्याइनभ्याइ छ । भीमबहादुर सबेरै उठेर यात्री खोज्छन् । आफूले धान्ने तौलअनुसारका यात्रु बोकेर लैजान्छन् । उनको बसोबास रहेको गौरीकुण्डदेखि केदारनाथसम्म २२ किलोमिटर उकालो हिँड्नुपर्छ । मान्छे बोकेर दैनिक ५ देखि १५ हजार भारुसम्म पाउने गरेको उनी सुनाउँछन् । ‘यो उमेरमा किताब बोकेर कलेज जानुपर्ने हो,’ उनले भने, ‘आर्थिक अभावले परदेशमा मान्छे बोकिरहेको छु ।’
भीमबहादुरसँगै गाउँका अरू विद्यार्थी पनि केदारनाथमै छन् । मान्छेको तौलअनुसार ज्याला लिने गरेको भीमबहादुरले बताए । उनका अनुसार ८० किलोका मान्छे बोक्न २२ हजार, ७० किलोका १५ हजार र ५० देखि ६० किलोका मान्छे बोक्न १० देखि १२ हजार भारुसम्म ज्याला लिने गरेका छन् । ‘मैले ४५ देखि ७० किलोसम्मका मान्छे मात्र बोक्न सक्छु,’ उनले भने, ‘यो काम सजिलो छैन ।’ केदारनाथबाट फर्किने बेला मुस्किलले दुई–तीन हजार कमाइ हुने गरेको भीमबहादुरले बताए ।
‘सुर्खेतमा बसेर उच्च शिक्षा पढें,’ उनले भने, ‘कोठा भाडा तिरेर धेरै दिन बस्न सक्ने अवस्था रहेन । त्यसैले त मान्छे बोक्न केदारनाथ आइपुगेको हुँ ।’ यो सिजन वैशाखदेखि असोजसम्म उनी केदारनाथमै हुनेछन् । अनि हिउँदमा फर्किएर ट्युसन पढ्ने योजना बनाएका छन् ।
उनको गाउँकै हरिबहादुर रावत पनि केदारनाथमै भेटिन्छन् । कक्षा १२ उत्तीर्ण हरिबहादुरको पनि स्नातक तह पूरा गर्ने धोको छ । त्यसकै लागि उनी पैसा कमाउन केदारनाथ हान्निएका हुन् । ‘काम नगरे खान पुग्दैन,’ उनले भने, ‘पढाइलेखाइ त धेरै टाढाको विषय भइसक्यो, केही रकम कमाएपछि दसैंमा घर फर्किने योजना छ ।’ उच्च शिक्षाकै लागि अरू जिल्ला जानुपर्ने र त्यसका लागि पैसा जोहो गर्न कालापहाड आउनुपरेको उनको भनाइ छ ।
उनीहरूका साथी रमेश रावत पनि उच्च शिक्षा पढ्न आवश्यक खर्च जोहो गर्न गौरीकुण्ड पुगेका छन् । पैसा कमाएर लेखपढ गर्ने उनको इच्छा छ । यहाँबाट काम गर्न पुगेका नेपालीका अनुसार भारतका अन्य क्षेत्रको तुलनामा केदारनाथमा बढी कमाइ हुन्छ । अन्ततिर एक वर्षमा हुने कमाइ यहाँ एक महिनामै हुन्छ । तर, जोखिम धेरै छ । हिँड्न नसक्ने वृद्धवृद्धा, बालबालिकालाई उकालोमा बोकेर लैजाने काम पाइने भएकाले नेपाली युवा आकर्षित भएका हुन् ।
अहिले केदारनाथमा जुम्ला, कालीकोट, मुगु, डोल्पा, सुर्खेत, जाजरकोट, सल्यान, रुकुम, हुम्ला, बाजुरा, रुकुम पूर्वलगायत जिल्लाका युवा विभिन्न काममा संलग्न छन् । वैशाखदेखि असोजसम्म विशेष पूजाआजा र मेला लाग्ने भारतको प्रमुख तीर्थस्थल केदारनाथमा ३० हजारभन्दा बढी नेपाली ज्याला मजदुरीका लागि पुगेका छन् । जुम्लाका मात्रै ८ देखि १५ हजार जना रहेको त्यहाँ रहेका नेपाली बताउँछन् । हिन्दु धर्मावलम्बीका लागि भारतका प्रमुख चार धाममध्ये पर्ने केदारनाथ मन्दिरमा दैनिक ३५ हजारभन्दा बढी तीर्थयात्री पुग्ने गरेको अनुमान छ । केदारनाथमा हिँड्न नसक्ने तीर्थयात्रीले डन्डी (चार जनाले बोक्ने डोली), कन्डी (डोको काटेर एक जनाले बोक्ने) र घोडा प्रयोग गर्दै आएका छन् ।
गाउँमा रोजगारीका अवसर नभएकाले युवाहरू विदेशिनु परिरहेको जुम्लाका मीमबहादुर रावत बताउँछन् । १२ कक्षा उत्तीर्ण उनी पनि केदारनाथमा काम गरिरहेका छन् । उनकी श्रीमती सुर्खेतमै लोक सेवा तयारी गरिरहेकी छन् । ‘दुवै जना सँगै बसेर पढ्ने अवस्था भएन,’ उनले भने, ‘५–६ महिना कमाएपछि घर फर्किने सोच बनाएको छु ।’
२०८० साउनमा केदारनाथमा पहिरो जाँदा जुम्लाको पातारासी–३ चौरगाउँका एकै घरका ७ जनासहित ९ जना बेपत्ता भएका थिए । ‘यहाँ कमाउने अवसर पनि छ, ज्यानको जोखिम पनि उत्तिकै छ,’ मीनबहादुरले भने, ‘हरेक वर्ष कहिले आउन नपरोस् भनेर पुकारिरहेका हुन्छौं । फेरि आउनुपर्ने बाध्यता भइहाल्छ ।’
