कर्णालीलाई समृद्ध बनाउने जिम्मा अब युवाको : प्रदेश प्रमुख जोशी

कर्णालीलाई कर्मथलो बनाएर सामाजिक रूपान्तरणका क्षेत्रमा काम गरेका १० जना युवा कर्णाली युथ आइकन अवार्डबाट सम्मानित ।

वैशाख २१, २०८३

तृप्ति शाही

The responsibility of making Karnali prosperous now lies with the youth: Provincial Chief Joshi

What you should know

काठमाडौँ — कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीलाई समृद्व बनाउने जिम्मा युवाको काँधमा आएको बताएका छन् ।

कर्णाली गरिब र अशिक्षित छ भन्ने पुरानो मानसिकता त्यागेर समृद्धिको नयाँ बाटोमा लाग्न युवाहरूलाई उनले आह्वान गरे । शनिबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली युवा महोत्सवको सोमबार समापन समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली सम्भावनाले भरिपूर्ण रहेको र ती सम्भावनालाई उजागर गर्ने जिम्मा अब युवाको भएको बताएका हुन् । 

'कर्णाली गरिब छ, अशिक्षित छ भन्ने मनोवृत्तिबाट हामी टाढा रहनुपर्छ,' उनले भने, 'कर्णाली समृद्ध छ र यहाँ उज्ज्वल भविष्य छ भन्ने सोचका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’

यो युग युवाहरूको भएको उल्लेख गर्दै अहिलेको परिस्थितिमा निराश नभई उत्साहित भएर काम गर्नुपर्ने उनको सुझाव छ । ‘कर्णालीमा सबैभन्दा पहिले कृषिमा जोड दिनुपर्छ, जसले यहाँका युवाहरूलाई आफ्नै माटोमा स्वरोजगार बनाउँछ,’ उनले भने, ‘हाम्रा युवाहरू यहाँका सम्भावना छाडेर मुग्लान पस्नुपर्ने अवस्था दुःखद छ । सरकारले कृषिमा युवाहरूलाई लाग्न प्रेरित गर्ने ठोस कार्यक्रम ल्याउनुपर्छ ।’ 

कर्णाली युवा महोत्सवमा प्रदेशभरका युवाहरूको सहभागिता थियो । उत्सवमा विकास, नेतृत्व र उद्यमशीलताका विषयमा  छलफल भएको थियो । 

१० युवालाई कर्णाली युथ अवार्ड

कर्णाली युवा महोत्सवको अवसरमा कर्णालीलाई कर्मथलो बनाएर सामाजिक रूपान्तरणका क्षेत्रमा काम गरेका १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मान गरिएको छ । सोमबार महोत्सव समापन समारोहमा प्रदेश प्रमुख जोशीले कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएका नेत्ररोग विशेषज्ञ डा आकांक्षा रानालाई युथ आइकन अवार्ड, पत्रकारितातर्फ चाँदनी कठायत, गीत-संगीततर्फ इब्सल सन्ज्याल, शिव संगीत, युवा व्यवसायीतर्फ मनीषजंग शाही, युवा उद्यमीतर्फ प्रमिला बुढा, सामाजिक क्षेत्रमा हिक्मत वादी, समाजसेवीका रूपमा हरि कँडेल, चलचित्रतर्फ केशव थापा, युवा उत्प्रेरक आदर्शविक्रम सिंहलाई युथ अवार्ड दिइएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully