कर्णालीको समृद्धिमा राज्यको दायित्व, जनप्रतिनिधि र युवाका सवाल, मिडियामा कर्णालीको स्थान, पर्यटन, शिक्षा, र स्वास्थ्य जस्ता विषयमा छलफल हुने उनले बताए ।
वीरेन्द्रनगर — कर्णाली यूवा महोत्सवको दोस्रो संस्करण शनिबारदेखि सुरू हुने भएको छ । कर्णाली प्रदेशका युवाहरूको प्रतिभा पहिचान र क्षमता विकास गर्ने उद्देश्यका साथ कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
शनिबारदेखि (१९ र २० वैशाख) वीरेन्द्रनगरस्थित सिटी हलको प्रांगणमा महोत्सव सञ्चालन हुनेछ । कर्णालीका युवाहरूका लागि आफ्नो शक्ति, सिर्जनशीलता र सम्भावनालाई उजागर गर्ने साझा डबलीको रूपमा दोस्रो संस्करण गर्न लागिएको मूल आयोजक समितिका संयोजक विनोदकुमार शाहीले भने जानकारी दिए ।
कर्णालीको समृद्धिमा राज्यको दायित्व, जनप्रतिनिधि र युवाका सवाल, मिडियामा कर्णालीको स्थान, पर्यटन, शिक्षा, र स्वास्थ्य जस्ता विषयमा छलफल हुने उनले बताए । यस्तै महोत्सवमा वक्तृत्वकला, क्षितिज समर्पणद्वारा लिखित पुस्तक तोरकिन र ओम रिजालद्वारा लिखित पैकेलोको पनि चर्चा गरिनेछ ।
कर्णालीका विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्ने कर्णालीका उत्कृष्ट १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मानित गरिने शाहीले बताए । महोत्सवमा कर्णालीको मौलिक देउडा खेल, सांगीतिक र साहित्यिक प्रस्तुतिहरू गरिनेछ ।
गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्ष थप परिष्कृत रूपमा महोत्सवलाई निरन्तरता दिन लागिएको आयोजकको दाबी छ । कर्णालीका यूवाहरूलाई स्थान दिने खुल्लामञ्च कर्णाली यूवा महोत्सव भएको सल्लाकार भूपेन्द्रजंग शाहीले बताए । कर्णालीका सबै यूवाहरूले आफ्नै कार्यक्रम सम्झिएर सहकार्य गर्नपर्नेमा जोड दिए ।
परिवर्तनका लागि युवा, राष्ट्रिय युवा परिषद्, राष्ट्र निर्माण मञ्च नेपाल, प्लेयिङ फर चेन्ज र कर्णाली युथ फाउन्डेसनलगायत संस्थाहरू यस महोत्सवका आयोजक तथा सह-आयोजकका रूपमा छन् ।
