वास्तविक सुकुमवासीमाथि अत्याचार नगर्न राप्रपा नेता शाहीको चेतावनी

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ‘कर्णाली युवा महोत्सव’को दोस्रो संस्करणलाई सम्बोधन गर्दै भने, 'यो देश वास्तविक सुकुमवासीको हो । राज्यले नागरिकलाई दुःख दिनु भएन ।’

वैशाख १९, २०८३

तृप्ति शाही

RPP leader Shahi warns against atrocities against genuine squatters

वीरेन्द्रनगर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वास्तविक सुकुमवासीमाथि अत्याचार नगर्न सरकारलाई चेतावनी दिएका छन् । राज्यले डोजर चलाएर वास्तविक सुकुमवासीलाई आतंकित पार्ने कार्य बन्द गर्नुपर्ने उनको भनाइ थियो । 

शनिबारबाट वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली युवा महोत्सव’को दोस्रो संस्करणलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य शाहीले भने, ‘वास्तविक सुकुमवासीको पहिचान गरौं भनेर प्रधानमन्त्रीलाई भनेको छु  । यो देश वास्तविक सुकुमवासीको हो । सुकुमवासी समस्या समाधान अध्यादेश ल्याएर गरिन्छ भने पनि प्रधानमन्त्रीलाई सहयोग गर्छौं । तर राज्यले नागरिकलाई दुःख दिनु भएन ।’

यस्तै उनले बाँके र बर्दियालाई कर्णालीमा गाभ्न पर्ने बताएका छन् । पार्टीको एजेन्डा प्रदेश खारेज गर्ने रहे पनि संघीयता कार्यान्वयनका क्रममा कर्णालीलाई बर्दिया र बाँकेसँग अलग राखिनु नै अव्यावहारिक भएको दाबी गरे ।

राज्य पुनर्संरचनामा भूगोलका आधारमा विभेद हुने गरी बनेको संविधान संशोधनमा साथ रहने शाहीको भनाइ छ । कर्णालीको समृद्धिबिना देश कदापि माथि उठ्न नसक्ने पनि उनले तर्क गरे ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully