बजेट फ्रिजले विकास रोकिन्छ : प्रदेश प्रमुख जोशी

'बजेटको सदुपयोग गर्दै कर्णालीको समृद्धिमा लगाउन सरकार र जनप्रतिनिधि एकताबद्ध हुनुपर्छ,’ कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले भने, ‘कर्णालीमा विकास नै नभएको भन्ने तर्कसँग असहमत छु । विकासक्रम चलिरहेको छ तर त्यसको गति बढाउन आवश्यक छ ।’

वैशाख १९, २०८३

तृप्ति शाही

Budget freeze halts development: Provincial Chief Joshi

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले बजेट फ्रिज हुँदा विकास रोकिने बताएका छन् । कर्णालीको बजेट बर्सेनि फ्रिज हुने अवस्थाप्रति कटाक्ष गर्दै उनले यसमा जनप्रतिनिधि र कर्मचारीलाई प्रतिबद्ध हुन आग्रह पनि गरे ।

शनिबारबाट वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली युवा महोत्सव’को दोस्रो संस्करणको उदघाटन समारोहमा बोल्दै उनले बर्सेनि बजेट फ्रिज हुनु भनेको विकास रोकिनु रहेको दाबी गरे । 'बजेटको सदुपयोग गर्दै कर्णालीको समृद्धिमा लगाउन सरकार र जनप्रतिनिधि एकताबद्ध हुनुपर्छ,’ उनले भने, ‘कर्णालीमा विकास नै नभएको भन्ने तर्कसँग असहमत छु । विकासक्रम चलिरहेको छ तर त्यसको गति बढाउन आवश्यक छ ।’

समृद्ध र सुखी कर्णालीका लागि विकासका केही ढोकाहरू बन्द भएकाले ती ढोका खोल्न अब युवाहरूको साझा आवाज उठ्नु पर्ने उनको भनाइ थियो । कर्णाली वास्तवमा गरिब नभई अपार सम्भावना र प्राकृतिक स्रोतले धनी रहेको जिकिर गर्दै कर्णालीलाई हेर्ने बाह्य दृष्टिकोण गलत रहेको उनले बताए । जोशीले कर्णालीलाई बाहिरबाट गरिब देखाइए पनि भित्र त्यस्तो नरहेको बताए । 

‘कर्णाली खानीमा धनी छ, यहाँ देशकै ठूला र विशेष प्राकृतिक सम्पदा र संरचना छन्,’ उनले भने, ‘तर गैरसरकारी संस्थाहरूले डोनर ल्याउनकै लागि कर्णालीलाई गरिब भन्दै प्रचार गर्ने प्रवृत्तिले यो प्रदेश गरिबीको सूचीमा परेको हो ।’

 देशका युवालाई स्वदेशमै राख्न सक्ने क्षमता कर्णालीसँग रहेको तर त्यसको सही उपयोग हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे । युवाहरूलाई विशेष गरी कृषिमा आकर्षित गर्नुपर्नेमा उनले जोड दिए । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully