सल्यान प्रहरी कार्यालयको हाताभित्र गाडिएको अवस्थामा ८६ वटा बम फेला

ती बम र उपकरण खिया लागेको अवस्थामा रहेका छन् ।

वैशाख १९, २०८३

विप्लव महर्जन

86 bombs found buried inside Salyan Police Office

सल्यान — सल्यानको शारदा नगरपालिका-३ बयलडाँडास्थित जिल्ला प्रहरी कार्यालयको हाताभित्र विभिन्न खालका ८६ वटा बम फेला परेको छ । नयाँ भवनको जग खन्ने क्रममा जमिनमुनि गाडेर राखेको अवस्थामा ती बम भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार ८२ वटा सकेट बम, तीनवटा सुतली बम र एक थान बोतल बम रहेका छन् । जग खन्ने क्रममा बम भेटिएपछि थप उत्खनन गर्दा रेडियो वेभ सात थान, एक्सप्लोसिभ ५ सय ग्राम, बम बनाउन प्रयोग हुने दुई किलो सामग्री र फाइरिङ केबल १० मिटर फेला परेको छ ।

फेला परेका बम र सामग्री खिया लागेका अवस्थामा रहेको केसीले जानकारी गराए । ती बम द्वन्द्वकालमा सुरक्षाका लागि गाडेर राखिएको उनको भनाइ छ । 

भेटिएका बम डिस्पोज गर्न विभिन्न स्थानका नेपाली सेनाका डिस्पोजल टोलीसँग समन्वय भएको र अहिले सिमखर्कस्थित सिद्दीबक्स गणका उपसेनानी कृष्ण क्षेत्रीको कमाण्ड र कालीभक्ती गण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजालीको कमाण्डमा ६/६ जनाको टोली कार्यालयमा आएको उनले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully