एक वर्षदेखि बाबुबाट ‘बलात्कृत’ एक बालिकाको उद्धार 

सामाजिक सञ्जालमा ट्राफिक प्रहरी प्रमुखले सार्वजनिक गरेको नम्बरमा आएको सन्देशले एक वर्षदेखि भइरहेको बालिका बलात्कार प्रकरणको खुलासा भयो।

वैशाख १८, २०८३

तृप्ति शाही

A girl who was 'raped' by her father for a year is rescued

What you should know

वीरेन्द्रनगर — केही दिनअघि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कर्णाली प्रदेश सुर्खेतका प्रमुख मुकुन्दप्रसाद रिजालले सामाजिक सञ्जालमा आफ्नो कार्यालयको फोन नम्बर सार्वजनिक गरे । कर्णाली प्रदेशमा कार्यरत ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको खण्डमा सिधै फोन गरेर गुनासो दर्ता गराउन अनुरोध गरे । त्यसमा उनले दुर्घटनासँग सम्बन्धित जानकारीका साथै बाटोमा ट्राफिक प्रहरीले दु:ख दिएमा उक्त नम्बरमा खबर गर्न भनेका थिए । 

बैशाख १४ गते बिहान उनको नम्बरमा आएको एक फोनले ट्राफिक प्रहरीको कार्यक्षेत्रभन्दा बाहिरको समस्या सुनायो । कुवेतबाट एक महिलाले गरेको त्यो फोनले एक वर्षदेखि आफ्नै बाबुबाट १२ वर्षीया बालिका ‘बलात्कृत’  हुँदै आएको कुरा खुलेकाे हाे । 

कुवेतमा बस्दै आएकी ती महिला बालिकाकी सानीमा नाता पर्ने हुन् । व्हाट्सएपमा महिलाले बालिका बलात्कारको सूचना दिएपछि रिजालले प्रदेश प्रहरी प्रमुख जयराज सापकोटासम्म सूचना पुर्‍याए । सापकोटाले दैलेख प्रहरी प्रमुख डीएसपी गणेशबहादुर बराललाई के भएको हो? अनुसन्धान गर्न निर्देशन दिए । 

बरालले सूचना पाउनेबित्तिकै आफू मातहतमा रहेको ईलाका प्रहरी कार्यालय नौमुलेलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिए । त्यसपछि ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार थापाको टोली घटनास्थल पुग्यो । जिल्ला प्रहरी प्रमुख बरालका अनुसार इलाकाले गरेको प्रारम्भिक अनुसन्धानमा ती बालिकालाई बलात्कार गरेको खुल्न आयो । त्यसपछि प्रहरीले पीडित बालिकाको उद्धार गरी बलात्कार आरोपी ४९ वर्षीय बाबुलाई नियन्त्रणमा लियो । 

जिल्ला अदालत दैलेखबाट प्रहरीले म्याथ थप गराएर अहिले अनुसन्धान गरिरहेको छ । ती बाबुविरुद्ध हाडनातामा जबरजस्ती करणीको मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख बरालले जानकारी दिए । प्रहरी अनुसन्धान अनुसार ती बाबुले छोरीलाई २०८२ साउनबाटै बलात्कार गरिरहेको कुरा खुलेको छ । 

पीडित बालिकाकी आमाले दिएको बयान अनुसार छोरीमाथि बलात्कार हुँदै आएको जानकारी पहिलेदेखि थाहा भए पनि श्रीमान‍्‌ले ज्यान मार्ने धम्की दिएपछि घटना प्रहरीसम्म पुग्न सकेको थिएन । निम्न आर्थिक स्थिति भएको परिवारमा आमाले नै कमाएर ल्याउँथिइन् । आराेपी बाबुले दैनिक जाँड रक्सी खाने र घरमा आफू र छोराछोरीमाथि कुटपिट गर्दै आएको आमाको बयान छ । 

बालिकाको शरीरकाे तल्लो भागमा घाउचोट देखिएको प्रहरीको भनाइ छ । यद्यपि मेडिकल जाँचको रिपोर्ट आइसकेपछि तथ्यहरु खुल्दै जाने बराल बताउँछन् । अहिले बालिकालाई दैलेखस्थित एक सामाजिक संस्थाको संरक्षणमा राखेर उपचार भइरहेको छ । 

सुरुमा श्रीमान्‌को डरले घटनाबारे बोल्न नमानेकी आमाले पछि सामाजिक संस्था र प्रहरीले लामो काउन्सेलिङ गरेपछि मात्र कुरा खोलिन् । छोरीले पनि बाबुले डर धम्की दिएर निरन्तर आफूमाथि दुष्कर्म गर्दै आएको प्रहरीसमक्ष बयान दिएकी छन् । 

बालिकाकी आमाका अनुसार गत साउनमा आफू महिनावारी भएका बेलादेखि नै श्रीमान्‌को कुकृत्य सुरु भएको थियो । महिनावारी भएका बेला आफू छाउगोठमा सुतेको र छोरीहरु बाबुसँग सुतेका थिए । १२ वर्षीया छोरीमाथि आफ्नै बाबुले त्यस्तो कुदृष्टि राख्छन् भन्ने कल्पनासम्म नगरेको उनको भनाइ छ । 

मदिराले मातेका बाबुले सोही दिन छोरीमाथि जबरजस्ती करणी गरेको र त्यसपछि पनि निरन्तर जबरजस्ती गर्दै आएको जाहेरीमा उल्लेख छ । केही समयपछिकाे एक रात छोरी अकस्मात चिच्याएपछि श्रीमान्‌को दुष्कर्मबारे जानकारी पाए पनि कसैलाई भनेमा छोरीसहित ज्यान मार्ने धम्की दिएपछि आफूले भन्न नसकेको उनको भनाइ छ । 

श्रीमान्‌को हर्कत झन् आक्रामक बन्दै गएपछि उनले कुवेतमा भएकी बहिनीलाई श्रीमान्‌को कुकृत्यबारे जानकारी गराएकी थिइन् । ट्राफिक प्रहरी प्रमुख एसपी रिजालले सामाजिक सञ्जालमा राखेको नम्बरमा कुवेतमा भएकी ती महिलाले सम्पर्क गरी जानकारी गराएपछि मात्र घटनाबारे कुरा खुलेको हो । 

प्रहरी नियन्त्रणमा लिइएका पीडकले भने मदिराले लट्ठिएका बेला श्रीमती सोचेर छोरीमाथि त्यस्तो व्यवहार गर्न पुगेको बयान दिएका छन् । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully